चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने प्रदेश सरकारको निर्णय

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तार गर्ने उद्देश्यसहित प्रदेशका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ।
बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले धनगढीको सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयसँग आबद्ध शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको हो।
सरकारको निर्णयसँगै सम्बन्धित निकायबीच आवश्यक सम्झौता, कानुनी व्यवस्था तथा प्रशासनिक प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। यसले विश्वविद्यालयको शैक्षिक संरचना विस्तार र चिकित्सा शिक्षाको विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।
चारवटै अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरिएपछि प्रदेशमै स्वास्थ्य विज्ञानको उच्च शिक्षा सञ्चालनका लागि आवश्यक आधार तयार हुने विश्वास गरिएको छ। यसबाट एमबीबीएससहित स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहज हुने, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादनमा सहयोग पुग्ने र उच्च चिकित्सा शिक्षाका लागि प्रदेश बाहिर जानुपर्ने विद्यार्थीको निर्भरता पनि क्रमशः कम हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले गरेको यो निर्णयलाई सुदूरपश्चिममा स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। शिक्षण अस्पतालको अवधारणाले विशेषज्ञ स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य अनुसन्धानको प्रवर्द्धन तथा सर्वसाधारणलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित