सुदूरपश्चिम प्रदेशको बजेट : कृषि कर्जाको ब्याजमा अनुदान

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत कृषकलाई लक्षित गर्दै ब्याज अनुदानसहित विभिन्न कृषि प्रवद्र्धन कार्यक्रम घोषणा गरेको छ।प्रदेशसभामा आइतबार प्रस्तुत ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकता दिइएको छ ।
प्रदेश सरकारको बजेट अनुसार बैंक, वित्तीय संस्था र सहकारीमार्फत लिइने कृषि कर्जाको ब्याजमा अनुदान उपलब्ध गराउन रु १३ करोड ८५ लाख विनियोजन गरिएको छ। यस कार्यक्रमले साना तथा मध्यम किसानलाई सहुलियतपूर्ण ऋणको पहुँचमा ल्याउने सरकारको दाबी छ।
त्यस्तै, मसिनो धान, केराको टिस्यु कल्चर बिरुवा, जैतुन तेल, दूध तथा रैथाने बाली उत्पादन गरेबापत प्रतिफलमा आधारित अनुदान वितरण गर्न रु २ करोड ३८ लाख छुट्याइएको छ।
शीत भण्डारण गृहमा बीउ आलु भण्डारण गर्ने किसानलाई भाडामा छुट दिने व्यवस्था गरिएको छ। साथै, मासु तथा डेरी उद्योगी व्यवसायीलाई विद्युत महसुलमा अनुदान उपलब्ध गराइनेछ।
कृषि यान्त्रीकरण प्रवद्र्धनका लागि रु २ करोड ७० लाख र रासायनिक मलमा अनुदानका लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ। प्राकृतिक प्रकोपबाट कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा हुने क्षतिको राहतस्वरूप रु १ करोड छुट्याइएको छ।
यसैगरी, मुक्तकमैया, कमलरी र हलियाको व्यवस्थापनका लागि रु ३ करोड ५० लाख छुट्याइएको छ। प्रदेश सरकारले ’एक स्थानीय तहः दुई उत्पादन अभियान’ सञ्चालन गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक विशेष पकेट क्षेत्र विकास गर्ने लक्ष्यसहित रु ७० करोड ४० लाख विनियोजन गरेको छ।
दुग्ध विकास बोर्डमार्फत डेरी व्यवसाय प्रवद्र्धन तथा बजारीकरणका कार्यक्रम सञ्चालन गर्न रु २ करोड ८५ लाख बजेट छुट्याइएको छ।कैलाली, बैतडी, बझाङ, डोटी र दार्चुला जिल्लामा कफीखेतीको बगैँचा स्थापना तथा उच्च हिमाली स्थानीय तहलाई प्राङ्गारिक क्षेत्र घोषणाको तयारी गर्न रु २ करोड विनियोजन गरिएको छ।
भीमदत्त पन्त कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत युवालाई कृषिमा प्रेरित गर्न रु ३ करोड १० लाख विनियोजन गरिएको छ। कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी शिक्षा लिएका ७७२ युवालाई सागसब्जीखेती, च्याउ उत्पादन र मौरीपालनतर्फ आकर्षित गरिनेछ।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि कुल रु ३ अर्ब ३० करोड १० हजार बजेट विनियोजन गरिएको छ।आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रस्तुत गर्नुभएको बजेट अनुसार चालुतर्फ रु १० अर्ब २० करोड ८१ लाख र पूँजीगततर्फ रु १९ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ।सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा भने बजेट ढिलोगरी अघिल्लो असोजमा मात्रै ल्याएको थियो।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित