सार्थक ब्यूरो । भिजिट भिसा दुरुपयोगमा संलग्न भएको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखक फेरि आफ्नै गृह नगर कञ्चनपुरमा प्रकट भए । निजामती सेवा दिवसको अवसरमा महाकाली प्रादेशिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा उनले राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको दाबी गरे । तर, मन्त्रीकै विषयमा उठेका आरोपले उनको राजनीतिक नैतिकतामाथि प्रश्न उठाइरहेको छ ।
लेखकले कार्यक्रममा “तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि स्थायित्वका लागि वर्तमान सरकार बनेको हो” भन्दै राजनीतिक स्थिरताको महत्त्व औंल्याए । तर स्थायित्वका लागि जिम्मेवार ठानिने गृहमन्त्रीमाथि नै विदेश पलायनलाई प्रोत्साहन गर्ने भिजिट भिसा धन्दासँग जोडिएको चर्चा हुनु विडम्बना देखिन्छ ।
उनले निजामती सेवा विधेयक, शिक्षा ऐन लगायतका विधेयक पारित गर्ने तयारी भइरहेको बताए पनि आम नागरिकको चासो भने विदेशिन बाध्य युवाको पीडा हो । भिजिट भिसा प्रकरणमा मन्त्रीकै भूमिका स्पष्ट नभएसम्म, सुधार र नीतिगत प्रतिबद्धता कागजी घोषणाभन्दा बढी देखिँदैनन् भन्ने आलोचना बढ्दो छ । राजनीतिक अस्थिरता अन्त्य गर्ने सरकारकै मन्त्री नै विवादमा मुछिनु वर्तमान नेतृत्वको विश्वसनीयतामाथि ठूलो प्रश्न हो । स्थायित्वका कुरा गर्ने मात्र होइन, नैतिक जवाफदेहिताको अभ्यास पनि सरकारले गर्नुपर्छ भन्ने नागरिक अपेक्षा बढ्दो छ ।








Discussion about this post