सार्थक ब्यूरो ।बाजागाजा संस्कृतिसँग जोडिएको दमाहा बखर्ने परम्परा बिस्तारै हराउने अवस्थामामा पुगेको छ । छालाको काम गर्दै आएका शिल्पी समुदायले यस पेसामा निरन्तरता दिन नसक्दा पुराना पुस्तासँगै यो कला लोप हुने जोखिम बढेको हो ।
परम्परागत रूपमा आरनमा तामा पगालेर दाइन–दमाहा तयार गरेपछि गोरुको छालाले मात्र पूर्ण रूपमा बजाउन सकिने यो बाजा हाल भने शिल्पीको कमीका कारण टिक्न संघर्ष गरिरहेको छ । दशरथचन्द नगरपालिका–४, बाडीलेकका नरुवा भुल अहिले पनि यो पेशामा सक्रिय एक्ला शिल्पी मानिन्छन् । उनका अनुसार, “वर्षमा एक/दुई पटक मात्रै दमाहा बखर्ने काम आउँछ । एउटा दमाहा बखरेर सात सय रुपैयाँसम्म पाइन्छ तर यसैमा जीविका चलाउन सकिन्न ।”
नयाँ पुस्ता वैदेशिक रोजगारीतिर आकर्षित हुन थालेपछि परम्परागत सिप सिक्ने मान्छे हराउँदै गएको भुलको गुनासो छ । जीविकोपार्जन गर्न नसकिने भएकाले युवा पुस्ताले यो पेशाप्रति चासो नदेखाएको उनी बताउँछन् ।
यस पेसासँग सामाजिक विभेद पनि गाँसिएको छ । छालाको काम गर्ने भएकै कारण समाजले सम्मानका दृष्टिले नहेर्ने गरेको उनीहरूको अनुभव छ । दलित समुदायसँग जोडिएकाले मन्दिर र पूजाआजामा समेत विभेद हुने गरेको शिल्पी अगुवा राजुराम भुलले बताए ।
सुदूरपश्चिमका धेरैजसो धार्मिक मेला–पर्वमा दाइन–दमाहा अनिवार्य भए पनि यसलाई बजाउने समुदाय भने उपेक्षित भएको गुनासो उनीहरूको छ । “देउताको बाजा भनेर ढोग्ने परम्परा छ तर यसलाई तयार गर्ने मान्छेप्रति समाजले सम्मान देखाउँदैन,” राजुराम भुलले भने ।
दमाहा बखर्न गोरुको छाला अनिवार्य हुने भएकाले कानुनी र प्राविधिक चुनौती पनि यो पेशाले भोगिरहेको छ । शिल्पी समुदायका अनुसार, स्थानीय तहले सिप र पेसाको संरक्षणका लागि स्पष्ट योजना नबनाए नजिकैका वर्षमा यो पेशा पूर्ण रूपमा हराउने खतरा छ ।
समुदायले राज्यसँग माग गरेको छ—परम्परागत सिपलाई संरक्षण, नयाँ पुस्तालाई सिकाउने अवसर र जातीय विभेद अन्त्यका लागि ठोस नीति अवलम्बन गरियोस् ।








Discussion about this post