तरकारीखेतीले ल्यायो वार्षिक पाँच लाख आम्दानी

सार्थक ब्यूरो । भीमदत्त नगरपालिका–१४ नयाँ कटानका रानाथारू समुदायले पन्ध्र कट्ठामा व्यावसायिक तरकारीखेतीमार्फत वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन्। डेढ दशकअघिदेखि तरकारीखेतीमा संलग्न यी किसानहरूले राम्रो आम्दानी पाएपछि खेती क्षेत्रफल विस्तार गर्दै आएका छन्।
गाउँका नाथुराम रानाले २०६५ सालमा आफ्नै खेतमा ७५ बोट भन्टाबाट खेती सुरु गरेका थिए। फलफूल राम्रो भएको देखेर दोस्रो वर्षदेखि बन्दा, काउली, टमाटर, खुर्सानी जस्ता तरकारी पनि रोप्न थाले। अहिले उनी १५ कट्ठामा तरकारीखेती गर्दै आएका छन्। उनका अनुसार वर्षेनी पाँच लाख रुपैयाँसम्म आम्दानी हुने भएको छ।
रानाबाट प्रेरित भएर नयाँ कटानका अन्य ४० परिवार पनि व्यावसायिक तरकारीखेतीमा लागेका छन्। गाउँमा मुख्यत: भन्टा, टमाटर, बन्दा, काउली, खुर्सानी लगायतका हरिया तरकारी उत्पादन हुँदै आएको छ। रानाका अनुसार “अन्नबालीको तुलनामा तरकारीखेती तीन गुणासम्म बढी फाइदाजनक भएकाले गाउँले सबैले तरकारीखेती रोजेका छन्।”
तरकारी उत्पादनको बजार सहज भएपछि विक्रीसमेत सरल भएको छ। पहिले घरघर गएर बिक्री गर्नु पर्ने बाध्यता थिए पनि अहिले महेन्द्रनगरस्थित सब्जीमण्डीमा सजिलै बिक्री भइरहेको छ।
पछिल्लो समय रानाथारू समुदायले होमस्टे सञ्चालन समेत सुरु गरेका छन्। गाउँको उत्पादन र परिकार पाहुनालाई उपलब्ध गराउँदा समुदायले अतिरिक्त आम्दानी पनि प्राप्त गर्दै आएको हो। रानाथारू होमस्टेका अध्यक्ष पर्शुराम रानाका अनुसार “तरकारीखेती र होमस्टे दुवैबाट आय वृद्धि भएपछि गाउँ आत्मनिर्भर बनेको छ र उदाहरणीय बस्तीका रूपमा परिचित भइरहेको छ।”
यसरी नयाँ कटानमा तरकारीखेती र समुदाय आधारित पर्यटनले गाउँको आर्थिक अवस्था सुदृढ गर्दै स्थानीय आत्मनिर्भरता बढाउने बाटो खोलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित