सार्थक डेस्क।बाजुरामा परम्परागत भुवा–भस्सो पर्व सुरु भएसँगै गाउँबस्तीमा विशेष चहलपहल देखिन थालेको छ। पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट ठूला मुढा बाल्दै आरम्भ गरिने यस पर्वमा दमाहा बाजाको गुञ्जन र सामूहिक भुवा–भस्सो खेलले जिल्लाभर रौनक छाएको छ।
भुवापर्व सुरु हुने तथा भुवा माग्न गाउँ–गाउँ जाने क्रममा खेलाडीहरूले परम्परागत भाकासहित भुवा र भस्सो खेल्ने चलन रहिआएको छ। स्थानीयहरू दौरासुरुवाल लगाएर हातमा ढाल र तरबार समात्दै भुवा खेल्न थालेपछि बाजुराका बस्तीहरू उत्सवमय बनेका छन्।
किंवदन्तीअनुसार त्रेतायुगमा पाण्डव र कौरवबीचको युद्ध समाप्त भई पाण्डव पक्षको विजयपछि खुसीयालीका रूपमा भुवापर्व मनाउन थालिएको विश्वास गरिन्छ। यही मान्यताका आधारमा सुदूरपश्चिमका विभिन्न जिल्लामा यो पर्व हर्षोल्लासका साथ मनाइँदै आएको छ। बाजुरामा पनि यस वर्ष भुवापर्व भव्य रूपमा मनाइएको छ।
जिल्लाका बडीमालिका, बुढीगङ्गा, त्रिवेणी, बुढीनन्दा, गौमूल, खप्तड छेडेदह, स्वामीकात्तिक, हिमाली, जगन्नाथलगायत स्थानीय तहका विभिन्न गाउँबस्तीमा भुवापर्व विशेष रूपमा मनाइन्छ। भुवापर्व सुदूरपश्चिम क्षेत्रको पहिचान बोकेको प्रमुख सांस्कृतिक पर्वका रूपमा लिइन्छ।
बाजुरामा सबैभन्दा बढी भुवा खेलिने स्थानका रूपमा बुढीगङ्गा नगरपालिका–२ को ताँप्रा चिनिन्छ। यहाँ एक वर्ष विशेष रूपमा भुवापर्व मनाउने र त्यसपछि दुई वर्षको अन्तरालमा पुनः मनाउने परम्परा रहेको स्थानीय बताउँछन्। यस वर्ष ताँप्रामा भुवापर्व परेकाले रोजगारीका लागि भारत गएका धेरै स्थानीय गाउँ फर्किएर पर्वमा सहभागी भएका छन्। “लामो समयसम्म गाउँ आउन नपाएकाहरू समेत भुवापर्वकै लागि घर फर्किएका छन्,” स्थानीय प्रेम रोकायाले बताउनुभयो।
पाण्डव–कौरव युद्धका क्रममा राति उज्यालोका लागि राँको बालेर लडाइँ गरिएको स्मरणमा मध्यरातमै राँके जुलुस निकालेर भुवापर्व सुरु गर्ने चलन रहेको ज्योतिष मेखराज जैशीले जानकारी दिनुभयो।


















Discussion about this post