सार्थक ब्यूरो ।शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी उमेरले करिब सत्तरी वर्ष नजिक पुग्नुभएको छ । उमेर पाको भए पनि उहाँको उत्साह, सक्रियता र संस्कृतिप्रतिको लगाव भने अझै पनि युवाजस्तै देखिन्छ । परम्परागत पहिरनमा सजिएर ‘छलो’ (छलिया) नृत्य प्रस्तुत गरिरहँदा उहाँलाई देख्ने जो–कोही अचम्मित हुन्छन् ।
दार्चुलाको धुलगडाबाट तराई बसाइँ सरेको झन्डै तीन दशक बितिसक्दा पनि पहाडको संस्कृतिप्रतिको स्मृति उहाँको मनमा ताजा छ । पहाडमा रहँदा महिलाहरू सामूहिक रूपमा छलो नाच खेल्ने चलन थियो । तर सहज जीवनको खोजीमा तराई झरेपछि त्यो परम्परा क्रमशः हराउँदै गएको उहाँ सम्झनुहुन्छ ।
तराई बसाइँसँगै मौलिक पहिरनको स्थान आधुनिक लवाइखवाइले लिन थाल्यो । टको, झुमझुमी, पागडो, घाँघरो, चोलो, पोती र डोरीजस्ता परम्परागत पहिरन प्रयोगमा आउन छाडे । द्रोपती धामीका अनुसार सामाजिक संकोच, आधुनिक देखिने चाहना र पहिरन सिउने दक्ष कारिगर नपाइनुले पुरानो लुगा परित्याग हुन पुग्यो ।
परम्परागत पहिरन हराउँदै जाँदा त्यससँग जोडिएको छलो नृत्य पनि ओझेलमा पर्न थाल्यो । यही अवस्थाले चिन्तित बनेका द्रोपतीसहित केही महिलाले मिलेर पहिरन र संस्कृति जोगाउने अभियान सुरु गरे । गाउँमै ‘छलो समाज’ गठन गरी महिलाहरूलाई संगठित गरियो ।
समाजकी सक्रिय सदस्य चन्द्रा ठगुन्नाका अनुसार सबैलाई पहिरन सिउन नआएपछि पहाडमा लगाइने जस्तै कपडा छानेर सिउने मान्छे खोजी गरी पहिरन तयार गरियो । अहिले ती महिलाहरू गौरा पर्व, देउडा प्रतियोगिता, सामाजिक कार्यक्रम, विद्यालयका वार्षिकोत्सव लगायत अवसरमा आफ्नै मौलिक पहिरनमा सहभागी हुँदै आएका छन् । यस्ता कार्यक्रममा परम्परागत पहिरनमै छलो नृत्य प्रस्तुत गरिन्छ ।
तीनदेखि पाँच हजार रुपैयाँसम्म खर्च गरेर तयार पारिने पहिरनले आफ्नो पहिचान जोगिएको अनुभूति महिलाहरूले गरेका छन् । “यो लुगा हाम्रो संस्कृतिको सम्झना हो,” चन्द्रा ठगुन्ना भन्नुहुन्छ, “यसले अरूलाई पनि परम्परा संरक्षणतर्फ प्रेरित गर्छ ।”
छलो समाजमा हाल २२ वर्षदेखि ६८ वर्षसम्म उमेर समूहका ४० भन्दा बढी महिला आबद्ध छन् । पाका महिलाले युवापुस्तालाई मौलिक पहिरनको महत्त्व बुझाउँदै छलो नृत्य पनि सिकाउँदै आएका छन् । पहिले पुरुष र महिला दुवैले यो नृत्य खेल्ने गरे पनि अहिले पुरुषको सहभागिता घटेपछि महिलाले नै परम्परा जोगाइरहेका छन् ।
परम्परागत पहिरन पुनः प्रयोगमा आएपछि आधुनिक लुगा लगाउने महिलाहरू पनि स्वःस्फूर्त रूपमा मौलिक पहिरन सिउन थालेका छन् । पछिल्ला पाँच वर्षयता महिलाहरू संगठित रूपमा संस्कृति र पहिरन संरक्षणमा जुटेका छन् ।
पचपन्न वर्षीया अमला ठगुन्ना संस्कृतिको पुनर्जीवनप्रति खुसी व्यक्त गर्नुहुन्छ । “अरू समुदायले आफ्नो पहिरन लगाएको देख्दा हामीले किन छाड्यौँ भन्ने लाग्थ्यो,” उहाँ भन्नुहुन्छ, “अहिले आफैँ पहिरन लगाएर छलो देखाउँदा गर्वको अनुभूति हुन्छ ।”
पहाडमा छिट (फर्कावाद) को कपडाबाट बनाइने आठदेखि १२ पाटा भएको घाँघरो–चोलो महिलाको मुख्य पहिरन थियो । यस्तो लवाइखवाइलाई सभ्य र सम्पन्न परिवारको संकेतका रूपमा हेरिन्थ्यो । घाँघरो–चोलोसँगै आँगडो, टाउकोमा सेतो टको, कम्मरमा पागडो र विभिन्न सुन–चाँदीका गरगहना प्रयोग गरिन्थ्यो ।
पूर्वशिक्षक शङ्करदत्त जोशीका अनुसार ती गहना गाउँकै लुहार र तिरुवा समुदायका व्यक्तिले बनाउने गर्थे । तराई बसाइँसराइपछि अन्य समुदायको संस्कार अपनाउँदा पुरानो पहिचान ओझेलमा परेको उहाँको भनाइ छ । “परम्परा हरायो भने पहिचान पनि हराउँछ,” उहाँ भन्नुहुन्छ, “त्यसैले यस्तो प्रयासलाई सबैले साथ दिनुपर्छ ।”
छलो नृत्यमा बाजा बजाउँदै आएका जयबहादुर टमटाले भने पञ्चेबाजाको अभावप्रति चिन्ता व्यक्त गर्नुभयो । “बाजाबिनाको छलो अपुरो हुन्छ,” उहाँको भनाइ छ, “यसलाई निरन्तरता दिन स्थानीय तहले चासो दिनु आवश्यक छ ।”
शुक्लाफाँटामा महिलाहरूको निरन्तर प्रयासले मौलिक पहिरन र छलो नृत्य फेरि जीवित बन्दै गएको छ । संस्कृतिविद् कृष्णबहादुर ठगुन्नाका अनुसार यो पहल केवल पहिरन र नृत्यको संरक्षण मात्र नभई सुदूरपश्चिमको पहिचान, इतिहास र सांस्कृतिक आत्मा जोगाउने अभियान हो । उहाँले परम्परा संरक्षणका लागि स्थानीय सरकार, राज्य र समाज सबैको साझा साथ अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।


















Discussion about this post