पढ्दै कमाउँदै कृषिका विद्यार्थी, व्यवहारिक अभ्याससँगै आम्दानीतर्फ उन्मुख

सार्थक व्युरो ।सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान सङ्कायका विद्यार्थीहरूले कक्षामा सिकेको ज्ञानलाई खेतबारीमा प्रयोग गर्दै आम्दानी गर्न थालेका छन्। स्नातक तहका चौथोदेखि सातौँ सेमेस्टरसम्म अध्ययनरत विद्यार्थीहरू अहिले ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत व्यावहारिक कृषि अभ्यासमा संलग्न भएका हुन्।
अनुदान सहयोग प्राप्त भएपछि यसअघि अभ्यासमै सीमित खेती अहिले आम्दानीमुखी बन्दै गएको छ। टीकापुरस्थित सङ्काय परिसर वरपर विभिन्न प्रकारका तरकारी उत्पादन भइरहेका छन्। करिब २० विद्यार्थी पाँच समूहमा विभाजित भई खेतीमा जुटेका छन्।
विद्यार्थीहरूले सामान्यदेखि उच्च प्रविधिसम्मका प्लास्टिक टनेल निर्माण गरी बेमौसमी तरकारी उत्पादन गरिरहेका छन्। विश्वविद्यालय अनुदान आयोगको इन्क्युबेसन सेन्टरमार्फत करिब ५० लाख रुपैयाँ लगानीमा यस्ता संरचना निर्माण गरिएको हो।
सातौँ सेमेस्टरका विद्यार्थी छविलाल न्यौपानेले अर्धप्रविधियुक्त टनेलमा टमाटर खेती गर्दै राम्रो उत्पादन लिन थालेका छन्। उनका अनुसार एक बिरुवाबाट आठ किलोसम्म उत्पादन हुने अपेक्षा गरिएकोमा उनले लगाएका २१० बिरुवाबाट हालसम्म एक क्विन्टल टमाटर बिक्री भइसकेको छ। अझै उत्पादन भइरहेकाले थप आम्दानी हुने उनले बताए। अविलाश जातको टमाटर बजारमा सजिलै बिक्री हुने उनले अनुभव सुनाए भने परीक्षणका लागि मनीषा जातको खेती पनि गरिरहेका छन्।
त्यस्तै, छैटौँ सेमेस्टरकी विद्यार्थी पुष्पा मन्नीले उच्च प्रविधियुक्त टनेलमा खेती गर्दै अध्ययनसँगै उत्पादनबाट लाभ लिन सकिने अनुभव भएको बताइन्। उनले दुई बिघा जमिनमा लौका र करेला खेती गरेकी छन् भने छ कट्ठामा अमिलो भिन्डी (रोजेली) लगाएकी छन्। रोजेलीको पातबाट चिया बनाउन सकिने उनले बताइन्। साथै उनले आलुबाट चिप्स उत्पादन गरी बजारमा पठाएको पनि जानकारी दिइन्।
उपप्राध्यापक वसन्त भट्टराईका अनुसार विद्यार्थीलाई बाली चक्रबारे व्यवहारिक ज्ञान दिन प्रत्येकलाई छुट्टाछुट्टै प्लट उपलब्ध गराइएको छ। हाल करिब १५ बिघा जमिनमा विद्यार्थीहरूले खेती गरिरहेका छन्। आगामी दिनमा माटोरहित खेती प्रणाली र नयाँ जातका बालीको प्रयोग गर्ने लक्ष्य रहेको उनले बताए।
विश्वविद्यालयले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै उत्पादनदेखि बजारीकरणसम्मको सीप सिकाउने उद्देश्य राखेको जनाएको छ। विद्यार्थीहरू आफैँ उत्पादन बिक्रीका लागि हाटबजारसम्म पुग्ने गरेका छन्, तर समय अभावका कारण सबै विद्यार्थी सक्रिय रूपमा बजारमा जान नसकेको बताइएको छ।
‘पढ्दै कमाउँदै’ कार्यक्रम यसै वर्षदेखि सुरु भएकाले आयको स्पष्ट तथ्यांक भने अझै तयार भइसकेको छैन। विश्वविद्यालयका अनुसार हाल संलग्न विद्यार्थीहरूले अध्ययन पूरा गरेपछि यी परियोजना नयाँ विद्यार्थीलाई हस्तान्तरण गरिनेछ र कार्यक्रमलाई निरन्तरता दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित