सार्थक व्युरो । नेपाली कांग्रेसले सञ्चालन गरिरहेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा हालसम्म झन्डै तीन लाख सदस्य सहभागी भएका छन्। पार्टीको ‘जरा अभियान’ अन्तर्गत गत वैशाख १ गतेदेखि सुरु गरिएको सदस्यता अद्यावधिक कार्यक्रम जारी रहँदा नयाँ क्रियाशील सदस्यताका लागि समेत आवेदन खुला गरिएको छ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार हालसम्म करिब तीन लाख सदस्यले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरिसकेका छन्। अद्यावधिक अभियानको निर्धारित समय सकिन केही दिन मात्र बाँकी रहँदा कांग्रेसले नयाँ सदस्यता वितरण प्रक्रिया पनि अघि बढाएको हो।
दुलालले अद्यावधिकको म्याद थप्ने सम्भावना न्यून रहेको संकेत गर्दै विशेष परिस्थितिमा सीमित समयका लागि केही सहुलियत दिन सकिने बताए। उनका अनुसार पार्टीमा सक्रिय हुन चाहने कोही पनि सदस्य अवसरबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नयाँ सदस्यताका लागि आवेदन खुला गरिएको हो। अहिले सदस्यता लिनेहरूले पनि आगामी १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए।
सोमबार बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन खुला गर्ने निर्णय गरेको थियो। पार्टीले अद्यावधिकपछि पाँच लाख क्रियाशील सदस्य पुर्याउने लक्ष्य लिएको भए पनि त्यो लक्ष्य हासिल हुने सम्भावना कम देखिएको नेताहरूले बताएका छन्। चौधौँ महाधिवेशनमा आठ लाख ७२ हजारभन्दा बढी क्रियाशील सदस्य सहभागी भएका थिए।
महामन्त्री प्रदीप पौडेलले धेरै सदस्यको निधन भइसकेको, कतिपयले पार्टी छाडिसकेको तथा अन्य कारणले अपेक्षित संख्या पुग्न कठिन देखिएको बताए। उनले पनि सदस्यता अद्यावधिकको समय थप गर्ने कुनै तयारी नभएको स्पष्ट पारे।
इतर समूहको असहमति कायम
क्रियाशील सदस्यता अद्यावधिकको विषयमा पार्टीभित्रको असन्तुष्टि भने अझै समाधान हुन सकेको छैन। निवर्तमान सभापति शेरबहादुर देउवा तथा नेता डा. शेखर कोइराला निकट समूहले अद्यावधिक प्रक्रियाप्रति असहमति जनाउँदै आएको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो समूहको अडान यथावत रहेको बताएका छन्। उनका अनुसार पहिले नै क्रियाशील सदस्य भइसकेकालाई पुनः अनिवार्य रूपमा अद्यावधिक प्रक्रियामा सहभागी गराउने व्यवस्था उपयुक्त नभएको धारणा रहेको छ।
जेठ १८ गते बसेको इतर पक्षको भेलाले पार्टी एकताको आधार तय गर्न केही प्रस्तावहरू अघि सारेको जनाएको छ। नेता प्रकाशशरण महतले क्रियाशील सदस्यता अद्यावधिकको व्यवस्थाले अन्योल सिर्जना गरेको उल्लेख गर्दै महाधिवेशनलाई निष्पक्ष र सर्वस्वीकार्य बनाउन साझा संयन्त्र आवश्यक रहेको बताए।
उनका अनुसार संस्थापन पक्षसँग अनौपचारिक छलफल भइरहेको भए पनि ठोस सहमति भने जुट्न सकेको छैन। हालकै अवस्थालाई निरन्तरता दिइए ठूलो संख्यामा सदस्य प्रक्रिया बाहिर पर्ने जोखिम रहेको उनको भनाइ छ।
केही इतर नेताले गरे अद्यावधिक
असन्तुष्टि जनाउँदै आएको समूहका केही नेताले भने सदस्यता अद्यावधिक गरिसकेका छन्। कांग्रेस नेता रामहरि खतिवडाले आफ्नो सदस्यता अद्यावधिक भएको स्वीकार गर्दै त्यो प्रक्रिया अनपेक्षित रूपमा भएको बताएका छन्।
यद्यपि उनले पार्टी एकतामै जोड दिँदै कांग्रेस विभाजनको बाटोमा जान नहुने धारणा व्यक्त गरेका छन्। पछिल्लो समय इतर समूहका केही नेताहरू पार्टी सभापति गगनकुमार थापासँग नजिकिँदै विभिन्न जिम्मेवारीमा सक्रिय हुन थालेका छन्।
केन्द्रीय सदस्यहरू बद्री सिग्देल, जीवन परियार र महेन्द्र यादव लगायतका नेताहरू पार्टीभित्र सहकार्य र एकताको पक्षमा उभिएको बताइन्छ। कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिकको विषय अहिले पनि १५औँ महाधिवेशनको तयारीसँग जोडिएको महत्वपूर्ण राजनीतिक बहसका रूपमा रहेको छ।


















Discussion about this post