असफल अभ्यासलाई दोहोर्‍याउनु होइन, नयाँ सोचसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल

सार्थक व्युरो । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विगतमा प्रभावकारी हुन नसकेका कार्य र निर्णयलाई निरन्तरता दिनुभन्दा आवश्यक परे नयाँ बाटो अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि सुरु भएको एघारौँ अन्तरव्यवस्थापिका सम्मेलन २०८३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले अघिल्ला निर्णयहरूको कार्यान्वयन अवस्थाको गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। सफल नभएका अभ्यासलाई दोहोर्‍याएर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने भएकाले समयअनुकूल सुधार र परिवर्तन अपरिहार्य रहेको उहाँको भनाइ थियो।
उहाँले संघीय संसद् तथा प्रदेश व्यवस्थापिकाका प्रमुख पदाधिकारीहरू सहभागी हुने यस्ता सम्मेलनले ठोस नतिजा दिनुपर्ने उल्लेख गर्दै त्यसको प्रत्यक्ष लाभ नागरिकले अनुभूति गर्न सक्नुपर्नेमा जोड दिनुभयो।
सभामुख अर्यालले संविधानले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य तथा सहअस्तित्वको अवधारणा स्थापित गरेको स्मरण गराउँदै मुलुकको विकासका लागि अघिल्लो पुस्ताको अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको सोच र आकांक्षालाई पनि समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विगतका अन्तरव्यवस्थापिका सम्मेलनबाट जारी भएका घोषणा तथा प्रतिबद्धताहरूको कार्यान्वयन अवस्था समीक्षा गर्नुपर्ने बताउनुभयो। साथै संघीय र प्रदेश व्यवस्थापिकाबाट अपेक्षित केही काम हुन नसकेको तथा स्थानीय तहको भूमिकालाई पर्याप्त प्राथमिकता नदिइएको विषयमा समेत छलफल आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा संघीय संसद्का सभामुख–उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष–उपाध्यक्ष, मधेश प्रदेश बाहेकका प्रदेश सभाका सभामुख तथा उपसभामुख, सुदूरपश्चिम प्रदेश सभाका सदस्य, संघ तथा प्रदेश व्यवस्थापिकाका सचिव र सहसचिव तथा प्रदेशका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ।
संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन संघीय संसद् र प्रदेश सभाबीचको समन्वय, सहयोग तथा सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो। सम्मेलनको आयोजना अन्तरव्यवस्थापिका मञ्चले गरेको हो भने व्यवस्थापन सुदूरपश्चिम प्रदेश सभा सचिवालयले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित