सार्थक ब्यूरो ।भारतीय विदेशसचिव विक्रम मिश्रीले भदौ २ गते काठमाडौं आइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकट भविष्यमा भारत भ्रमणका लागि निम्ता दिएका थिए। तर सो निम्तामा ठ्याक्कै मिति भने तोकिएको थिएन। सुरुमा भदौ ३१ वा असोज १ मा भ्रमण हुने चर्चा चले पनि अहिले मिति अनिश्चित बनेको छ।
लिपुलेक नाका हुँदै भारत–चीनबीच व्यापारिक सम्झौता भएपछि नेपालले तुरुन्तै आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको थियो। प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेट्दा पनि सो सम्झौतामाथि प्रश्न उठाएका थिए। यससँगै भारतीय सञ्चारमाध्यम र विश्लेषकहरूले ओलीको आसन्न भारत भ्रमणबारे थप चासो देखाए।
याद रहोस्, ओलीकै कार्यकालमा नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेको थियो। यही संवेदनशील मुद्दा पुनः ताजा भएपछि भ्रमण मिति धकेलिने आशंका बढेको हो।
काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले भने, ‘निम्तामा मिति नै उल्लेख नभएकाले धकेलियो भन्न मिल्दैन, आपसी सहमतिमा मिति आउन सक्छ।’
तर भारतीय पत्रिका द प्रिन्ट लगायतका केही मिडियाले सेप्टेम्बरमै ओलीको भ्रमण सम्भावना कम भएको बताउँदै नेपालले दिएको आपत्तिलाई भारतले नोट गरेको उल्लेख गरेका छन्।
उता, चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (SCO) को बैठकमा सहभागी भएका बेला ओलीले चीन, रुससहितका शीर्ष नेतासँग भेट गरे पनि भारतीय प्रधानमन्त्री मोदीसँग भने केवल जम्काभेट मात्र भएको थियो। यसलाई कतिपयले दुई देशबीच अझै चिसोपना रहेको संकेत मानेका छन्।
यद्यपि, मोदीले सामाजिक सञ्जाल एक्स मा ओलीसँगको भेटबारे लेख्दै नेपाल–भारत सम्बन्धबारे सकारात्मक टिप्पणी गरेका थिए। भारतीय उच्च अधिकारीहरूले समेत भ्रमण अत्यन्त संवेदनशील भएकाले अन्तिम क्षणमै मिति घोषणा हुनसक्ने बताएका छन्।
नेपाली पक्ष भने तोकिएकै समयमा भ्रमण हुने विश्वासमा तयारी अघि बढाइरहेको छ। उनीहरूको भनाइमा भ्रमण सेप्टेम्बरमै हुने र लिपुलेक विषय प्राथमिकतापूर्वक उठाइनेछ। तर अब १२ दिन मात्र बाँकी रहँदा पनि मिति घोषणा नहुनु यसबारे थप प्रश्न उठाउने कारण बनेको छ।








Discussion about this post