सुदूरपश्चिममा मौलिक कला–संस्कृति जगेर्ना गर्न : स्थानीय तहको पहल

सार्थक ब्यूरो ।आधुनिकताको भेलसँगै मौलिकता हराउँदै जाँदा सुदूरपश्चिमका चाडपर्वसँग जोडिएका मौलिक कला–संस्कृति जोगाउन स्थानीय तह सक्रिय बन्दै गएका छन्। धेरै ठाउँमा स्थानीय तहले रकम छुट्याएर संरक्षण अभियान चलाउन थालेपछि हराउँदै गएको परम्परा पुनः जीवित बन्दै गएको छ।

कैलालीको घोडाघोडी नगरपालिकाले गौरा पर्वको अवसरमा समाजमा हराउँदै गएको पन्चैबाजा जोगाउन संरक्षण समितिलाई दमाहा, झ्याली, हुड्का, ट्याम्को, नरसिंहा, सनईलगायत बाजा र १६ थान पोसाक हस्तान्तरण गरेको छ। नगरप्रमुख खडकबहादुर रावतले समुदायको मागअनुसार यस्तो सहयोग गरिएको जनाउँदै भन्नुभयो, “पहिला पन्चैबाजा थियो रे, प्रयोगमा नआएपछि हराएछ, अब यसको महत्व बुझेर पालिकाले सहयोग गरेको हो।”

पन्चैबाजा संरक्षण समितिका प्रकाश नेपालीले यो परम्परा बाउबाजेबाट आएको भए पनि बीचमा छाड्दा हराएको र अब पालिकाको सहयोगले निरन्तरता दिने बताए। उनले भने, “अब विवाह, पूजापाठ र धार्मिक कार्यक्रममा पन्चैबाजा बजाउने छौं।”घोडाघोडी नगरपालिकाले मात्र होइन, गौरीगङ्गा नगरपालिकाले पनि मौलिक संस्कृति जगेर्नामा जोड दिएको छ। नगरप्रमुख देवीदत्त कँडेलका अनुसार नयाँ पुस्ताले पन्चैबाजा बजाउनै नजान्ने अवस्था भएकाले तालिम सञ्चालन गरिएको हो। “वडा नं १, ३, ४ र ९ मा तालिम दिएपछि अहिले विभिन्न कार्यक्रममा पन्चैबाजा बज्ने गरेको छ,” उनले बताए।

यस्तै, बर्दगोरिया गाउँपालिकाले तीज, गौरा पर्व र गणेश चौथीमा सहयोग गर्दै आएको छ। वडाध्यक्ष मिठुन गौतमका अनुसार गाउँको समग्र विकाससँग मौलिक संस्कृतिको संरक्षण जोडिएको छ।लम्कीचुहा नगरपालिकाले पनि थारू समुदायको मुङ्ग्रहवा नाच, छलिया नाच र भुवा नाच का लागि आवश्यक सामग्री सहयोग गरेको छ।स्थानीय सरकारले पहल गर्न थालेपछि हराउँदै गएको मौलिकता पुनः देखिन थालेको छ। समाजशास्त्रीहरूको भनाइमा यसले नयाँ पुस्तालाई आफ्नै जरा र पहिचानसँग जोड्ने काम गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित