सार्थक ब्यूरो । तिहारको समयमा जिल्लाभर सञ्चालन भइरहेका जुवा तासका खेलमा संलग्न ११३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विभिन्न ठाउँमा रातदिन चलिरहेका जुवा खालमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले ती स्थानहरूबाट जम्मा सात लाख २९ हजार ५४६ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।
बोहराका अनुसार भीमदत्त, दोधारा–चाँदनी, बेदकोट, शुक्लाफाँटा र बेलडाँडी क्षेत्रमा प्रहरीको विशेष निगरानीपछि तिहार अघि र पछिका दिनहरूमा अभियान सञ्चालन गरिएको थियो । असोज २४ गते भीमदत्त–१८ सिद्धिविनायक टोलस्थित भास्कर भट्टको पसलमा खेलिरहेका ११ जनासँग २१ हजार ६३५ रुपैयाँ बरामद गरिएको थियो । असोज २६ गते पिपरैयास्थित सुरेन्द्र बोहराको पसलमा खेलिरहेका ११ जनासँग ५४ हजार ४९१ रुपैयाँ र असोज २७ गते बेदकोट–९ स्थित अम्बै कटेजमा खेलिरहेका नौ जनासँग एक लाख ६९ हजार ९३५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, असोज २८ गते शुक्लाफाँटा–११ कलुवापुरमा खेलिरहेका १० जनाबाट ६३ हजार ५०० रुपैयाँ, कात्तिक १ गते महेन्द्रनगरमा गोरखबहादुर चन्दको घरमा खेलिरहेका ६ जनाबाट २३ हजार ११० रुपैयाँ बरामद गरिएको थियो । कात्तिक ४ गते बेलडाँडी गाउँपालिका–२ चौवन्नी बजारस्थित झलक क्याफेमा खेलिरहेका आठ जनासँग २७ हजार ८६५ रुपैयाँ र सोही दिन दैजीस्थित योगसिंह मालीको घरमा खेलिरहेका सात जनासँग ५१ हजार २६० रुपैयाँ पाइएको थियो ।
कात्तिक ५ गते दोधारा–चाँदनी–३ देवीस्थानमा डम्बर दमाईको घरबाट चार जनासँग २१ हजार ८७५ रुपैयाँ र तीन थान मोबाइल बरामद गरिएको थियो भने सोही दिन भीमदत्त–१८ पुष्पलाल चोकमा खेलिरहेका सात जनासँग ४१ हजार ९७५ रुपैयाँ फेला परेको थियो । त्यसैगरी, कात्तिक ६ र ७ गते दोधारा–चाँदनी–१ पशुपति टोलमा खेलिरहेका आठ जनाबाट ३० हजार ९३५ रुपैयाँ र चार मोबाइल फोन बरामद गरिएको थियो ।
कात्तिक ८ गते भीमदत्त–१ भासीस्थित सुरेन्द्र भण्डारीको घरमा हार–जितका आधारमा खेल भइरहेको अवस्थामा नौ जनालाई पक्राउ गरी ५५ हजार ११५ रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता अनुसार, पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ । प्रहरीले हालसम्म जुवा–ताससम्बन्धी १४ वटा मुद्दा दर्ता भएको र पक्राउ परेकामध्ये सबै रिहा भइसकेको जनाएको छ ।


















Discussion about this post