कञ्चनपुर भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

सार्थक ब्यूरो । गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा तोकिएको लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको छ। कार्यालयका तथ्यांकअनुसार २०८२/८३ को अवधि क्षेत्रमा जम्मा दुई लाख ६ हजार ८०२ रुपैयाँ राजस्व उठेको छ, जुन लक्ष्यभन्दा कम हो।
कार्यालयले सो अवधिमा दुई लाख ६२ हजार ९६ रुपैयाँ संकलन गर्ने उद्देश्य राखेपनि अपेक्षित परिणाम नआएको भन्सार कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले जानकारी दिए। उनका अनुसार भन्सारजन्य वस्तुमाथि सरकारले लागू गरेको सहुलियत र कर छुटले राजस्व घट्न योगदान पुर्‍याएको छ। त्यस्तै, महाकाली पुलमार्फत १० टनभन्दा भारी सामान लैजान रोक लगाइएपछि आयातमा कमी आएर राजस्व प्रभावित भएको उनी बताउँछन्।
पहिलो चौमासिको समीक्षा गर्दा असोजमा लक्ष्यभन्दा करिब २ प्रतिशत बढी राजस्व बटुलिएको भए पनि साउन, भदौ र कात्तिकमा संकलन कमजोर देखिएको छ। कार्यालयका अनुसार साउनमा लक्ष्यको ९८.३३ प्रतिशत, भदौमा ८३.७८ प्रतिशत र कात्तिकमा ७३ प्रतिशत मात्र राजस्व संकलन भएको थियो।
गड्डाचौकी भन्सारले पछिल्ला चार वर्षयता पनि लक्ष्यअनुसार राजस्व उठाउन नसकेको देखिन्छ। गत आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ४० हजार ५५९ रुपैयाँको लक्ष्य राखिएकोमा ५ लाख ९७ हजार ७५९ रुपैयाँ मात्र संकलन भएको थियो।
त्यसअघि २०८०/८१ मा ९ प्रतिशत, २०७९/८० मा २९ प्रतिशत र २०७८/७९ मा १३ प्रतिशत कम राजस्व उठेको कार्यालयको तथ्यांकले देखाउँछ।
स्थानीय नाकाबाट हुने आयातमा निरन्तर भएको कमी र करछुटको दायरा विस्तार भएसँगै कञ्चनपुर भन्सारको राजस्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अधिकारीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित