सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेश प्रहरीले मंसिर महिनाभरि विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५२४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय, धनगढीले सार्वजनिक गरेको मंसिर महिनाको प्रगति विवरणअनुसार पक्राउ परेका प्रतिवादीबाट एक करोड ६१ लाख ९९ हजार २९१ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
प्रदेशभर मंसिर महिनामा कुल २५६ वटा नयाँ मुद्दा दर्ता भएका छन् । तीमध्ये ७४ वटा जघन्य प्रकृतिका मुद्दा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, लामो समयदेखि विचाराधीन अवस्थामा रहेका दुई हजार ५५३ मुद्दामध्ये ११४ मुद्दा मंसिर महिनामै फछ्र्यौट गरिएको छ ।
प्रहरीका अनुसार प्रदेशका नौवटै जिल्लामा मंसिर महिनामा महिला तथा बालबालिका सम्बन्धी २८ वटा उजुरी दर्ता भएका छन् । यस अवधिमा १५५ जना हराएको उजुरी प्राप्त भएकामा ९० जनालाई सकुशल फेला पारेर परिवारको जिम्मा लगाइएको छ ।
मंसिर महिनामा प्रदेशभर प्रहरीमा ८११ वटा ठाडो उजुरी परेकामा ७५६ वटा उजुरी समाधान गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । मानव बेचबिखन सम्बन्धी ६ वटा मुद्दा दर्ता हुँदा पाँच जना पक्राउ परेका छन् भने एक जना अझै फरार रहेको बताइएको छ ।
यसैगरी, लागूऔषध सम्बन्धी ५६ वटा मुद्दा दर्ता भई दुई जना महिला र ८६ जना पुरुष पक्राउ परेका छन् । प्रदेशभर २१ जनाले आत्महत्या गरेको घटना दर्ता भएको प्रहरीको तथ्यांक छ, जसमा सबैभन्दा बढी झुन्डिएर आत्महत्या गरेको घटना देखिएको छ ।
घरेलु हिंसासम्बन्धी ८० वटा उजुरीमध्ये ६५ वटामा मिलापत्र गराइएको र बाँकी उजुरी अदालतमा पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा अबदेखि प्रत्येक महिनाको ५ गते नियमित रूपमा पत्रकार सम्मेलन गरी प्रहरीका गतिविधि र उपलब्धि सार्वजनिक गरिने जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रदेशका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीको अवस्थाबारे पनि जानकारी गराइएको थियो । प्रहरीका अनुसार उक्त घटनापछि फरार भएका कैदीमध्ये ३६५ जना अझै कारागार नफर्किएको अवस्था छ । तीमध्ये ६५ जना भारतीय नागरिक रहेको र अधिकांश फरार कैदीबन्दी भारततर्फ भागेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।


















Discussion about this post