जनताप्रति उत्तरदायी सरकार: लोकतन्त्रको वास्तविक परीक्षा

सार्थक डेस्क।नेपालको लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेको नेपालको संविधान २०७२ ले जनप्रतिनिधिहरूका लागि स्पष्ट जिम्मेवारी, अधिकार र कर्तव्य निर्धारण गरेको छ। संविधानले नागरिकको सार्वभौमसत्ता सुनिश्चित गर्दै जनताबाट निर्वाचित प्रतिनिधिहरूलाई राज्य सञ्चालनको जिम्मा दिएको छ। तर कागजमा लेखिएका प्रावधानहरू मात्र पर्याप्त हुँदैनन् ,ती प्रावधानहरूको वास्तविक अर्थ तब मात्र प्रकट हुन्छ, जब सरकार वास्तवमै जनताप्रति उत्तरदायी हुन्छ। यही प्रश्न आज नेपालको लोकतान्त्रिक अभ्यासको केन्द्रमा उभिएको छ।
लोकतन्त्रको पहिलो शर्त नै सचेत मतदाता हो। मतदाताले दृष्टि, योजना र कार्यान्वयन क्षमताका आधारमा जनप्रतिनिधि चयन गर्नुपर्छ भन्ने सैद्धान्तिक मान्यता छ। तर व्यवहारमा भने भावनात्मक, दलगत, जातीय वा क्षणिक प्रभावका आधारमा निर्णय हुने प्रवृत्ति अझै बलियो देखिन्छ। यसले केवल कमजोर नेतृत्व जन्माउने मात्र होइन, समग्र शासन प्रणालीलाई नै प्रभावहीन बनाउने खतरा रहन्छ। त्यसैले मतदाताको भूमिका मतदानमा सीमित नरही, निरन्तर मूल्याङ्कन र दबाब सिर्जना गर्ने तहसम्म विस्तार हुन जरुरी छ।
लोकतन्त्रमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन जति आवश्यक छ, त्यति नै आवश्यक नागरिक समाजको सक्रिय उपस्थिति पनि हो। सामाजिक जवाफदेहिता केवल सैद्धान्तिक अवधारणा होइन; यो शासन प्रणालीलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने वास्तविक साधन हो। जब नागरिकले आफ्ना प्रतिनिधिलाई प्रश्न गर्छन्, कामको हिसाब माग्छन् र गलत निर्णयप्रति आवाज उठाउँछन्, तब मात्र लोकतन्त्रले जीवन्त रूप लिन्छ। अन्यथा, लोकतन्त्र केवल औपचारिक अभ्यासमा सीमित रहन सक्छ।
पछिल्लो समय नेपाली समाजमा देखिएको निराशा यसै असन्तुलनको परिणाम हो। सामाजिक मूल्य–मान्यताको अवमूल्यन, भ्रष्टाचारप्रति बढ्दो सहनशीलता, र सेवा प्रवाहमा देखिएको ढिलासुस्तीले जनविश्वास कमजोर बनाएको छ। यही पृष्ठभूमिमा वैकल्पिक राजनीतिक शक्तिहरूप्रति आकर्षण बढेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी र बालचन्द्र (बालेन) शाह जस्ता पात्रहरूप्रति देखिएको समर्थन केवल व्यक्तिप्रतिको मोह होइन, बरु पुरानो राजनीतिक अभ्यासप्रति जनताको असन्तुष्टिको अभिव्यक्ति हो। “अबकी बार बालेन सरकार” भन्ने मनोविज्ञानले परिवर्तनको चाहना झल्काउँछ, तर त्यो चाहना पूरा गर्न केवल लोकप्रियता पर्याप्त हुँदैन।
यथार्थ के हो भने अपेक्षा र परिणामबीच सधैं दूरी रहन्छ। कुनै पनि नयाँ नेतृत्वले जनताको आकांक्षा पूरा गर्न ठोस नीति, स्पष्ट प्राथमिकता र दीर्घकालीन सोच आवश्यक पर्छ। बहुमत वा बलियो जनादेश प्राप्त गर्नु अवसर अवश्य हो, तर त्यो अवसरलाई परिणाममा रूपान्तरण गर्न संस्थागत क्षमता र उत्तरदायी कार्यशैली अनिवार्य हुन्छ। यदि सरकार केवल लोकप्रिय नारामा सीमित रहन्छ भने जनविश्वास चाँडै क्षय हुन सक्छ।
सुकुम्बासी बस्ती व्यवस्थापनको उदाहरणले यो कुरा अझ स्पष्ट पार्छ। कुनै पनि बस्ती हटाउने निर्णय केवल प्रशासनिक कदम मात्र होइन, त्यो मानव जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो। वैकल्पिक व्यवस्था नगरी डोजर प्रयोग गर्नु समस्याको समाधान होइन, बरु नयाँ समस्या सिर्जना गर्ने प्रक्रिया हो। यदि सरकार वास्तवमै जनताप्रति उत्तरदायी छ भने उसले दीर्घकालीन समाधान खोज्नुपर्छ ,जस्तै व्यवस्थित आवास योजना, बहुमंजिला भवन निर्माण, र आवश्यकताअनुसार न्यायपूर्ण वितरण। यसले केवल भौतिक समस्या समाधान गर्दैन, सामाजिक न्यायको अनुभूति पनि दिलाउँछ।
उत्तरदायी सरकारको अर्को महत्वपूर्ण पक्ष सेवा प्रवाहको गुणस्तर हो। नागरिकले राज्यलाई कर तिर्छन्, नियम पालना गर्छन् र लोकतान्त्रिक प्रक्रियामा भाग लिन्छन्। यसको बदलामा राज्यले सहज, छिटो र पारदर्शी सेवा दिनुपर्छ। तर जब सामान्य प्रशासनिक कामका लागि नागरिकले अनेकौं झन्झट व्यहोर्नुपर्छ, तब राज्यप्रति असन्तोष स्वाभाविक रूपमा बढ्छ। त्यसैले सुशासन केवल नीतिमा होइन, दैनिक व्यवहारमा देखिनुपर्छ।
अन्ततः लोकतन्त्रको सार “जनताका लागि, जनताद्वारा, जनताको शासन” भन्ने मूल मन्त्रमा निहित छ। यो आदर्शलाई व्यवहारमा उतार्न जनप्रतिनिधिमा सेवा भाव, स्पष्ट योजना र जवाफदेहिताको संस्कार अनिवार्य हुन्छ। साथै नागरिक पनि केवल अपेक्षा गर्ने होइन, सक्रिय निगरानीकर्ता बन्नुपर्छ। जब सरकार र नागरिक दुवैले आफ्नो-आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्छन्, तब मात्र लोकतन्त्र सुदृढ र प्रभावकारी बन्न सक्छ।
आजको आवश्यकता स्पष्ट छ  ,लोकप्रियताको क्षणिक लहर होइन, दीर्घकालीन उत्तरदायित्वमा आधारित शासन। जनताको विश्वास जित्ने एकमात्र उपाय भनेको काममार्फत परिणाम दिनु हो। त्यसैले अबको बहस केवल को सत्तामा पुग्ने भन्ने होइन, कसरी जनताप्रति उत्तरदायी सरकार निर्माण गर्ने भन्ने हुनुपर्छ। यही दिशामा अघि बढ्न सके मात्र नेपालको लोकतन्त्रले आफ्नो वास्तविक अर्थ र उद्देश्य प्राप्त गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित