सार्थक व्युरो । वैज्ञानिकहरूले केवल एक पटकको जीन–सम्पादन उपचारमार्फत शरीरमा रहेको ‘खराब’ कोलेस्ट्रोल (एलडिएल) को मात्रा दीर्घकालीन रूपमा घटाउन सफल भएको प्रारम्भिक अध्ययनले देखाएको बताएका छन्। यदि आगामी विस्तृत अनुसन्धानहरूले पनि यही नतिजा पुष्टि गरेमा मुटुरोग नियन्त्रणमा यो प्रविधि महत्वपूर्ण उपलब्धि बन्न सक्ने अपेक्षा गरिएको छ।
चिकित्सा क्षेत्रको प्रतिष्ठित जर्नल द न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन मा प्रकाशित अध्ययनअनुसार जीन–एडिटिङ प्रविधिबाट गरिएको एकपटकको उपचारपछि सहभागी बिरामीहरूमा एलडिएल कोलेस्ट्रोलको स्तर उल्लेखनीय रूपमा घटेको पाइएको छ।
अध्ययनमा कुल ८५ जना सहभागी थिए। तीमध्ये ३५ जनालाई नसामार्फत एकपटक जीन–सम्पादन गर्ने औषधि दिइएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार उपचारपछि ती बिरामीहरूमा एलडिएल कोलेस्ट्रोलको मात्रा अधिकतम ६२ प्रतिशतसम्म घटेको देखिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हृदयघात तथा अन्य मुटुसम्बन्धी रोगका कारण हरेक वर्ष विश्वभर लाखौं मानिसको मृत्यु हुने गरेको छ। त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्ने प्रभावकारी उपचार विकसित हुन सकेमा मुटुरोगबाट हुने मृत्यु दर घटाउन ठूलो योगदान पुग्न सक्ने विज्ञहरूको विश्वास छ।
द न्युयोर्क टाइम्स ले उल्लेख गरेअनुसार अध्ययनमा सहभागी केही बिरामीहरूमा वंशाणुगत रूपमा उच्च कोलेस्ट्रोलको समस्या थियो। उच्च मात्रा उपचार पाएका बिरामीहरूको एक समूहमा १८ महिनासम्म कोलेस्ट्रोलको स्तर नियन्त्रणमै रहेको पाइएको छ।
यद्यपि अनुसन्धान अझै प्रारम्भिक चरणमै रहेको छ। अमेरिकामा जीन थेरापीसम्बन्धी अध्ययनमा सहभागी बिरामीहरूको स्वास्थ्य अवस्थालाई सम्भावित जोखिम मूल्याङ्कनका लागि १५ वर्षसम्म निगरानीमा राख्नुपर्ने व्यवस्था छ।
जर्नलका प्रधान सम्पादक डा. एरिक रुबिनका अनुसार सामान्यतया यस्ता प्रारम्भिक अध्ययनका नतिजा प्रकाशन गरिँदैनन्। तर उपचारले आशाजनक परिणाम देखाएकाले यसलाई सार्वजनिक गरिएको हो।
अनुसन्धानकर्ताहरूले अब करिब २०० बिरामीमा यो उपचार विधिको थप परीक्षण गर्ने तयारी गरेका छन्।
कसरी काम गर्छ यो उपचार ?
सामान्य अवस्थामा कलेजोमा रहेका ‘एलडिएल रिसेप्टर’हरूले रगतबाट खराब कोलेस्ट्रोल हटाउने काम गर्छन्। तर केही व्यक्तिमा ‘पीसीएसके–९’ नामक प्रोटिन अत्यधिक उत्पादन हुने भएकाले ती रिसेप्टरहरूको कार्यक्षमता घट्छ र रगतमा एलडिएल कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ।
नयाँ जीन–एडिटिङ उपचारले यही प्रोटिन उत्पादन गर्ने जीनलाई लक्षित गर्छ। नसाबाट दिइएको विशेष अणु रगतमार्फत कलेजोसम्म पुगेर डीएनएमा रहेको सम्बन्धित जीनमा सानो परिवर्तन गर्छ। त्यसपछि उक्त जीन निष्क्रिय बन्न पुग्छ र ‘पीसीएसके–९’ प्रोटिनको उत्पादन बन्द हुन्छ।
यो प्रोटिन नबनेपछि कलेजोका रिसेप्टरहरू पुनः सक्रिय रूपमा काम गर्न थाल्छन् र रगतबाट बढी मात्रामा खराब कोलेस्ट्रोल हटाउन सक्षम हुन्छन्। परिणामस्वरूप एलडिएल कोलेस्ट्रोलको स्तर घट्दै जान्छ र मुटुरोगको जोखिम कम हुने सम्भावना बढ्छ।
विशेषज्ञहरूका अनुसार यो प्रविधि सफल भएमा भविष्यमा कोलेस्ट्रोल नियन्त्रणका लागि नियमित औषधि सेवनको आवश्यकता घट्न सक्नेछ, यद्यपि यसको प्रभावकारिता र सुरक्षाबारे थप अध्ययन आवश्यक रहेको उनीहरूले बताएका छन्। -सेतोपाटीबाट


















Discussion about this post