देउवा पक्षको असन्तुष्टिबीच कञ्चनपुर–३ मा कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रक्रिया सुरु

सार्थक व्युरो । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका बीच कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सुरु गरिएको छ। पार्टी नेतृत्वको निर्णयअनुसार पूर्व नगर सभापति पदमराज अवस्थीलाई संयोजकको जिम्मेवारी दिइएपछि प्रक्रिया अघि बढाइएको हो।
उक्त निर्णयप्रति पार्टीभित्रको देउवा पक्षले असहमति जनाउँदै विधानविपरीत कदम भएको आरोप लगाएको छ। क्षेत्रीय सभापति केशव चन्दको अधिकार कटौती गरी अवस्थीलाई जिम्मेवारी दिइएको भन्दै देउवा निकट नेताहरूले सार्वजनिक रूपमा विरोध जनाएका छन्।
कांग्रेसकी केन्द्रीय सदस्य सन्तोषी साउदको उपस्थितिमा सदस्यता अद्यावधिक अभियान सुरु भएको जानकारी दिँदै संयोजक अवस्थीले क्षेत्र नम्बर ३ का सम्पूर्ण क्रियाशील सदस्यलाई सदस्यता नवीकरण प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी संगठन सुदृढीकरणका लागि अभियानमा सहयोग गर्न अनुरोध गरेका हुन्।
तर क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरूले भने उक्त निर्णय स्वीकार गर्न नसकिने बताएका छन्। क्षेत्रीय समितिका सचिव उमेश जोशीले सामाजिक सञ्जालमार्फत पार्टी विधानअनुसार निर्वाचित नेतृत्वलाई बेवास्ता गरेर गरिएको निर्णय अमान्य रहेको दाबी गरेका छन्। उनले क्षेत्रीय सभापति केशव चन्दको अधिकारमाथि हस्तक्षेप गरिएको आरोप समेत लगाएका छन्।
क्षेत्र नम्बर ३ अन्तर्गतका केही वडा समितिहरूले पनि सदस्यता अद्यावधिक प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सहभागी नहुने चेतावनी दिएका छन्। यस क्षेत्रमा कुल ३० वडा रहेका छन्।
कञ्चनपुर–३ पूर्व गृहमन्त्री रमेश लेखकको राजनीतिक आधार क्षेत्रका रूपमा चिनिन्छ। पछिल्लो विशेष महाधिवेशनपछि कांग्रेसभित्रको शक्ति सन्तुलन परिवर्तनसँगै स्थानीय तहमा समेत गुटगत समीकरण फेरिएको देखिएको छ।
अवस्थी यसअघि रमेश लेखक निकट मानिए पनि पछिल्लो राजनीतिक घटनाक्रमपछि वर्तमान नेतृत्वसँग निकट बनेको बताइन्छ। उनी भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष तथा कांग्रेसका स्थानीय प्रवक्तासमेत हुन्।
विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्वमा आएको परिवर्तनसँगै कञ्चनपुरमा पनि विभिन्न समूहबीच प्रतिस्पर्धा तीव्र बनेको छ। हालै धनगढीमा सम्पन्न प्रदेशस्तरीय भेलामा देउवा पक्षका नेताहरू एकजुट देखिएका थिए भने नेतृत्वविरुद्ध असन्तुष्टिका स्वरसमेत सार्वजनिक भएका थिए।
यही पृष्ठभूमिमा पार्टी केन्द्रीय समितिले कञ्चनपुर–३ मा क्रियाशील सदस्यता अद्यावधिकको जिम्मेवारी अवस्थीलाई दिएपछि विवाद थप चर्किएको देखिएको छ। पार्टीभित्रको यो विवादले आगामी संगठनात्मक गतिविधि र महाधिवेशनको तयारीमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित