सार्थक व्युरो । खेल मैदान जलमग्न बनेपछि भीमदत्त नगरस्तरीय माध्यमिक विद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रम स्थगित गरिएको छ। प्रतियोगिता शुक्रबारबाट सुरु गर्ने तयारी गरिए पनि प्रतिकूल मौसमका कारण उद्घाटन शनिबार बिहानका लागि सारिएको आयोजकले जनाएको छ।
भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित होली फेमली इङ्गलिस मिडियम स्कुलको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशीबाट गर्ने कार्यक्रम तय गरिएको थियो। तर बिहीबार रातिदेखिको वर्षाले मैदानमा पानी जम्दा निर्धारित कार्यक्रम प्रभावित बनेको हो।
विद्यालयका सहायक व्यवस्थापक महादेवप्रसाद भट्टका अनुसार मैदानमा अत्यधिक पानी भरिएकाले उद्घाटन कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो। उनले शनिबार बिहान प्रतियोगिताको औपचारिक उद्घाटन गरिने जानकारी दिए। वर्षाका कारण क्रिकेट खेलका लागि तयार गरिएको पिचमा समेत केही क्षति पुगेको बताइएको छ।
भीमदत्त नगरपालिकाको सहयोगमा विद्यालय परिसरमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारीबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो।
प्रतियोगितामा भीमदत्त नगरपालिकाभित्रका १८ विद्यालयका टोलीहरूको सहभागिता रहनेछ। नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितालाई चार समूहमा विभाजन गरी खेल तालिका तय गरिएको आयोजकले जनाएको छ। खेल सञ्चालनका लागि ३६ जना अफिसियल परिचालन गरिनेछन्।
प्रतियोगिताको विजेता टोलीले ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछ।
त्यस्तै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। ‘म्यान अफ द म्याच’ लाई १ हजार ५०० रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही २ हजार ५०० रुपैयाँ, ‘म्यान अफ द सिरिज’ लाई ३ हजार रुपैयाँ तथा उदयीमान खेलाडीलाई १ हजार ५०० रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने विद्यालयका सञ्चालक भूपालसिंह विष्टले जानकारी दिए।
पत्रकार सम्मेलनका क्रममा प्रतियोगिताको ट्रफीसमेत सार्वजनिक गरिएको थियो। कार्यक्रम विद्यालयका सञ्चालक विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा होली फेमली स्कुलका सिस्टर म्यानेजर तथा प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेवप्रसाद भट्ट, जिल्ला क्रिकेट संघ कञ्चनपुरका सचिव विशाल सोनारलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा शिक्षा शाखा प्रमुख जोशीले सुदूरपश्चिम प्रदेशमै विद्यालयस्तरमा पहिलो पटक यति ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको उल्लेख गर्दै यसले विद्यार्थीहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।
विशिष्ट अतिथि भट्टले विद्यालयले विगतदेखि विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गर्दै आएको स्मरण गराउँदै क्रिकेट प्रतियोगिताले भविष्यका प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार प्रतियोगिता जेठ १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ।
विद्यालयका सञ्चालक विष्टले प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने भीमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ तथा अन्य सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै सफल आयोजनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।


















Discussion about this post