सार्थक व्युरो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
१९औँ गणतन्त्र दिवसका अवसरमा धनगढीमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले गणतन्त्र स्थापना केवल शासन व्यवस्था परिवर्तनको विषय नभई नागरिकको सार्वभौमसत्ता, समान अधिकार, आत्मसम्मान र लोकतान्त्रिक आकांक्षाको विजय भएको उल्लेख गरे।
उनले वि.सं. २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भएसँगै राज्य सञ्चालन प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिताको मार्ग प्रशस्त भएको बताए। गणतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलन र संघर्षमा ज्यान गुमाउने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गरे।
मुख्यमन्त्री शाहले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाउन भूमिका खेल्ने राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र तथा आम नागरिकप्रति पनि कृतज्ञता प्रकट गरे।
उनका अनुसार सुदूरपश्चिम प्रदेश प्राकृतिक सम्पदा, कृषि उत्पादन, पर्यटन, जलस्रोत, जडीबुटी तथा सीमापार व्यापारका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। भारत र चीनजस्ता ठूला आर्थिक बजारसँगको भौगोलिक निकटताले प्रदेशलाई लगानी, व्यापार र आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने अवसर प्रदान गरेको उनले बताए।
प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
आत्मनिर्भर र समृद्ध सुदूरपश्चिम निर्माणका लागि संघीय सरकार, स्थानीय तह, निजी क्षेत्र तथा नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले विकास र समृद्धिको अभियानमा सबै पक्षको साझा प्रयास आवश्यक हुने धारणा राखे।
सम्बोधनको अन्त्यमा मुख्यमन्त्री शाहले गणतान्त्रिक व्यवस्था, संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउन सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए। उनले गणतन्त्र दिवसले लोकतन्त्र, समावेशी विकास र सामाजिक न्यायप्रतिको प्रतिबद्धता थप सशक्त बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गरे।


















Discussion about this post