सार्थक व्युरो । १९औँ गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको बताएका छन्। उनले गणतन्त्रलाई राष्ट्र निर्माणको महत्वपूर्ण आधार र साझा भविष्य निर्माणको प्रेरणादायी शक्ति भएको उल्लेख गरे।
शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्रले विविध जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई सम्मान गर्दै नागरिकलाई राष्ट्रप्रतिको अपनत्व प्रदान गरेको बताए। उनले यही व्यवस्थाले देशलाई एकताबद्ध बनाउने आधार तयार गरेको धारणा राखे।
राष्ट्रपतिले गणतन्त्रलाई केवल शासन प्रणालीका रूपमा मात्र नभई राजनीतिक, आर्थिक र सामाजिक जीवनपद्धतिको रूपमा व्याख्या गर्दै यसको सफलताका लागि नैतिकता, मूल्य र आचरणलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याए। उनले सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न राजनीतिक नेतृत्व तथा राज्य संयन्त्र जिम्मेवार र मूल्यनिष्ठ हुनुपर्ने बताए।
उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बलियो जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै सरकारले सुशासन, सार्वजनिक सेवा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार नियन्त्रण तथा सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेको बताए। साथै, शासकीय सुधारका लागि तय गरिएका कार्यसूचीहरूको प्रभावकारी कार्यान्वयनबाट जनतामा नयाँ आशा सञ्चार हुने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुने भन्दै राज्यसत्ता, नेतृत्व र शासनशैलीमा समेत व्यवहारिक परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार ढिलासुस्ती, अनियमितता र बेथिति अहिलेका प्रमुख चुनौती हुन्, जसले लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकको विश्वास कमजोर बनाउन सक्छ।
नागरिकको जीवनमा वास्तविक परिवर्तन र आशाको अनुभूति नआएसम्म गणतन्त्रको लक्ष्य पूरा नहुने उल्लेख गर्दै उनले कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको अधिकतम विकासमार्फत समृद्धिको आधार निर्माण गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपतिले राजनीतिक दल, सरकार र नेतृत्व जनउत्तरदायी, सृजनशील, चरित्रवान र परिणाममुखी बन्नुपर्ने धारणा राख्दै सुशासनको अनुभूति नागरिकसम्म पुर्याउन राज्यका सबै निकाय सक्रिय हुनुपर्ने बताए। उनले संविधानले सुनिश्चित गरेका राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी विपन्न र कमजोर वर्गको जीवनस्तर उकास्नुपर्ने आवश्यकता औँल्याए।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थामध्ये एक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस व्यवस्थाले नागरिक सर्वोच्चताको सिद्धान्तलाई संस्थागत गरेको बताए। उनले संविधानमार्फत सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुगेको र नागरिकले आफ्नै घरआँगनबाट लोकतान्त्रिक अभ्यास गरिरहेको बताए।
स्थानीय तथा प्रदेश सरकारहरूले संविधानअनुसारका जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको जरा बलियो बनाउन जनताको प्रत्यक्ष सहभागिता महत्वपूर्ण भएको बताए।
गणतन्त्र दिवसलाई ऐतिहासिक महत्वको दिनका रूपमा स्मरण गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्र, नागरिक स्वतन्त्रता, जनअधिकार र गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा ज्यान अर्पण गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे। साथै, आन्दोलनका क्रममा जेल, निर्वासन र विभिन्न यातना भोगेका लोकतन्त्रका योद्धाप्रति सम्मान र आभार प्रकट गरे।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान पुर्याएका अग्रज नेता, राजनीतिक दल, नागरिक समाज तथा परिवर्तनका पक्षधर सबैलाई सम्मानपूर्वक स्मरण गरेका थिए।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
गणतन्त्र स्थापना पश्चात् यस्ता समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको अनुरोधमा राष्ट्रपतिले मुख्य सम्बोधन गरेका हुन्।


















Discussion about this post