सार्थक व्युरो ।सहरी विकास मन्त्रालयले प्रतिनिधि सभाको नयाँ बैठक हल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको दाबी गरेको छ। मन्त्रालयका अनुसार सरसफाइदेखि आधारभूत पूर्वाधारसम्मको काम सम्पन्न गरी बैठक सञ्चालन गर्न मिल्ने अवस्थामा हल तयार पारिएको हो।
मन्त्रालयले हाल संसद् बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा उपलब्ध अधिकांश सुविधा नयाँ हलमा पनि व्यवस्था गरिएको जनाएको छ। हलमा आवश्यक फर्निचर जडान, ठूला डिस्प्ले स्क्रिन स्थापना, सभामुखको आसन तथा रोस्ट्रममा माइक जडान र ध्वनि प्रणालीको व्यवस्थापन सम्पन्न भइसकेको मन्त्रालयको भनाइ छ।
यही आधारमा मन्त्रालयले संसद् बैठक नयाँ हलबाट सञ्चालन गर्न आग्रह गरेको छ। मन्त्रालयको आग्रहपछि सभामुख डोलप्रसाद अर्यालसहित संसद् सचिवालयका पदाधिकारीहरूले शुक्रबार बिहान नयाँ हलको निरीक्षण गरेका थिए।
तर सचिवालयले भने हल अझै पूर्ण रूपमा सञ्चालनयोग्य नभएको निष्कर्ष निकालेको छ। सचिवालयका अनुसार भवनभित्र खार देखिने समस्या रहेको, कार्यव्यवस्था समितिलगायत आवश्यक बैठक कक्षहरू तयार नभएको तथा सांसदका सिटमा माइक जडानको काम बाँकी रहेकाले तत्काल बैठक सञ्चालन गर्न उपयुक्त अवस्था छैन।
त्यसैगरी सुरक्षा व्यवस्थाको पूर्ण सुनिश्चितता, विद्युत् आपूर्तिको वैकल्पिक प्रणाली, प्रवेश तथा बाहिरिने मार्गको व्यवस्थापन र अन्य प्राविधिक पक्षहरू पनि अझै अधुरा रहेकाले नयाँ हलमा बैठक सञ्चालन गर्न कठिन हुने सचिवालयको भनाइ छ।
यसअघि नै सभामुख अर्यालले सांसदका सिट र डेस्कबीचको दूरी अत्यधिक रहेको भन्दै त्यसलाई सुधार गर्न सुझाव दिएका थिए। साथै माथिल्लो ग्यालरीबाट बैठक कक्षको गतिविधि स्पष्ट रूपमा अवलोकन गर्न नसकिने समस्या पनि रहेको बताइएको छ।
यी कारणले नयाँ भवनको हल तत्काल प्रयोगमा नआउने भएको छ। आज प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट भने हाल प्रयोग भइरहेको पुरानै संसद् हलबाट प्रस्तुत गरिनेछ।


















Discussion about this post