मुख्यमन्त्री शाहले स्वास्थ्य विज्ञान विश्वविद्यालयका नयाँ उपकुलपति र रजिस्ट्रारलाई दिए शुभकामना

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी तथा रजिस्ट्रार डा. भीम चन्दलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
आइतबार मुख्यमन्त्री निवासमा भएको भेटका क्रममा उहाँले विश्वविद्यालयको नेतृत्व सम्हालेका दुवै पदाधिकारीलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभेच्छा व्यक्त गर्दै स्वास्थ्य शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवाको गुणस्तरीय विस्तारमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
मुख्यमन्त्री शाहले विश्वविद्यालयलाई सुदूरपश्चिमको मात्र नभई राष्ट्रिय स्तरकै उत्कृष्ट स्वास्थ्य शिक्षा संस्थाका रूपमा स्थापित गर्न दूरदर्शी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो। साथै, विश्वविद्यालयको संस्थागत विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
मुख्यमन्त्रीको सचिवालयका अनुसार भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
गत असार ३१ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति तथा डा. भीम चन्दलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको थियो। नयाँ नेतृत्वको आगमनसँगै विश्वविद्यालयमा शैक्षिक गुणस्तर, अनुसन्धान तथा स्वास्थ्य सेवा विस्तारका क्षेत्रमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित