सुदूरपश्चिममा सडक दुर्घटना बढ्दो, एक आर्थिक वर्षमा २०५ जनाले गुमाए ज्यान

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनाको संख्या र त्यसबाट हुने मानवीय क्षति वर्षेनी बढ्दै गएको देखिएको छ। चालकको लापरबाही, अत्यधिक गति, कमजोर सडक पूर्वाधार, सवारी साधनको प्राविधिक समस्या तथा ट्राफिक नियमको पालना नहुनु दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्।
पछिल्ला केही दिनका घटनाले पनि प्रदेशमा सडक सुरक्षा चुनौतीपूर्ण रहेको संकेत गरेका छन्। शनिबार डडेल्धुरामा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको थियो भने कैलालीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। त्यसअघि असार २७ गते बझाङको केदारस्युँ गाउँपालिका–७ मा भएको जिप दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए। उक्त दुर्घटनामा गम्भीर घाइते भएका छ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको थियो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिमका नौ जिल्लामा भएका सडक दुर्घटनामा २०५ जनाको मृत्यु भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १९२ जना र २०८०/८१ मा १७२ जनाले ज्यान गुमाएका थिए। यसले सडक दुर्घटनाबाट हुने मृत्युदर निरन्तर उकालो लागिरहेको देखाउँछ।
दुर्घटनाको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर १ हजार ४७३ वटा दुर्घटना हुँदा २ हजार ३४३ जना घाइते भएका छन्। आर्थिक वर्ष २०८१/८२ मा १ हजार २०३ दुर्घटनामा २ हजार ४ जना घाइते भएका थिए भने २०८०/८१ मा ३०९ दुर्घटनामा ५३६ जना घाइते भएको तथ्यांक छ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि दैनिक घटना रिपोर्टिङ प्रणाली (डीआईआरएस) लागू गरिएपछि साइकलदेखि ठूला सवारीसम्मका सबै प्रकारका सडक दुर्घटनाको अभिलेख राख्न थालिएको हो। यही कारण पछिल्ला वर्षमा दुर्घटनाको तथ्यांक बढेको देखिए पनि मृत्यु र घाइतेको संख्या निरन्तर बढ्नु भने सडक सुरक्षाको अवस्था अझै चिन्ताजनक रहेको संकेत हो।
ट्राफिक नियमको पालना गराउन प्रहरीले नियमित रूपमा अनुगमन र कारबाहीसमेत गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा ३९ हजार २१२ सवारी साधन कारबाहीमा परेका थिए, जसबाट ३ करोड १८ लाख ८५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। त्यसअघि २०८१/८२ मा ६१ हजार ५७६ सवारी साधन कारबाहीमा पर्दा ४ करोड ४१ लाख ५१ हजार रुपैयाँ तथा २०८०/८१ मा ७३ हजार ४७९ सवारी साधनमाथि कारबाही हुँदा ४ करोड ८९ लाख ८७ हजार रुपैयाँ राजस्व उठाइएको थियो।
सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ। आर्थिक वर्ष २०८०/८१ मा ५ हजार ९३० कार्यक्रममार्फत ३ लाख ६५ हजार ४१३ जनालाई ट्राफिक नियमबारे जानकारी गराइएको थियो। २०८१/८२ मा ७ हजार ६४५ कार्यक्रमबाट २ लाख ७८ हजार ६४५ जना र २०८२/८३ मा ६ हजार २०६ कार्यक्रममार्फत १ लाख ९४ हजार ३९७ जनासम्म सचेतना सन्देश पुर्‍याइएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
यद्यपि नियमित सचेतना अभियान, ट्राफिक निगरानी र कानुनी कारबाहीका प्रयास भइरहे पनि दुर्घटना र मृत्युदरमा अपेक्षित कमी आउन सकेको छैन। सरोकारवाला निकायका अनुसार चालकको जिम्मेवारीबोध अभिवृद्धि, जोखिमयुक्त सडकको सुधार, सवारी साधनको नियमित प्राविधिक परीक्षण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन नगरेसम्म सडक दुर्घटना नियन्त्रण गर्न कठिन हुने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित