शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी तीव्र, यसै वर्षदेखि एमबीबीएस पढाइ सुरु गर्ने लक्ष्य

सार्थक ब्यूरो । लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब कार्यान्वयनको निर्णायक चरणमा पुगेको छ। झण्डै सात अर्ब रुपैयाँको लागतमा निर्माण भएका भौतिक पूर्वाधारलाई पूर्ण रूपमा उपयोगमा ल्याउने तयारीसँगै विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबीबीएससहित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। यसैबीच विश्वविद्यालय सञ्चालनको वातावरण बनाउन बुधबार विश्वविद्यालय परिसरमा बृहत् सरसफाइ अभियान पनि सञ्चालन गरिएको छ।
विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले पदभार ग्रहण गरेसँगै निर्माण सम्पन्न पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, शिक्षण अस्पताल सञ्चालन गर्ने, आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, स्वास्थ्य उपकरणको परीक्षण तथा खरिद गर्ने र शैक्षिक पूर्वाधारलाई उपयोगमा ल्याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्।
विश्वविद्यालयले पहिलो चरणमा एमबीबीएसतर्फ ५० विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको छ। साथै बीएससी नर्सिङ, ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी (BMLT) र बी. अप्टोमेट्री कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको छ। चिकित्सा शिक्षा आयोगको अनुगमन टोली करिब एक महिनाभित्र विश्वविद्यालय पुग्ने अपेक्षा गरिएको छ। आवश्यक स्वीकृति प्राप्त भएलगत्तै विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिने जनाइएको छ।
विश्वविद्यालयसँगै शिक्षण अस्पताल सञ्चालनको तयारी पनि अन्तिम चरणमा पुगेको छ। ६ सय शय्याको क्षमता रहेको अस्पताललाई प्रारम्भिक चरणमा ३ सय शय्याबाट सञ्चालन गरिनेछ। अस्पताल सञ्चालनका लागि आवश्यक सङ्गठन तथा व्यवस्थापन संरचना स्वीकृत भइसकेको छ भने बजेटको व्यवस्थासमेत सुनिश्चित भएको विश्वविद्यालयले जनाएको छ।
आवश्यक जनशक्ति व्यवस्थापनलाई पनि तीव्रता दिइएको छ। ७७ जना फ्याकल्टी पदका लागि आवेदन आह्वान भइसकेको छ। प्राध्यापक तथा सहप्राध्यापक पदको अन्तर्वार्ता सम्पन्न भइसकेको छ भने बाँकी पदपूर्ति प्रक्रिया अघि बढिरहेको छ। पाँच वर्षदेखि प्रयोगविहीन रहेका स्वास्थ्य उपकरणहरूको प्राविधिक परीक्षण गरी प्रयोगयोग्य उपकरण मर्मत गर्ने तथा आवश्यक नयाँ उपकरण र प्रयोगशाला सामग्री खरिद गर्ने तयारीसमेत भइरहेको छ।
विश्वविद्यालयले आफ्नो सेवा गेटामा मात्र सीमित नराखी अछामको रामारोशन, बाजुराको बडीमालिकालगायत सुदूरपश्चिमका दुर्गम क्षेत्रमा टेलिमेडिसिनमार्फत विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ। साथै सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल र लम्की–चुहा अस्पताललाई विश्वविद्यालयसँग आबद्ध गरी शिक्षण अस्पतालका रूपमा विकास गर्ने दीर्घकालीन योजना पनि अघि बढाइएको छ।
यसैबीच विश्वविद्यालय सञ्चालनको तयारीलाई थप प्रभावकारी बनाउन बुधबार अत्तरियास्थित विश्वविद्यालय परिसरमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। लामो समयदेखि बेवारिसे अवस्थामा रहेको परिसरलाई स्वच्छ, व्यवस्थित र सञ्चालनयोग्य बनाउने उद्देश्यले आयोजना गरिएको अभियानमा विश्वविद्यालय संघर्ष समिति, विभिन्न विद्यालय, कलेज, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, महिला समूह, युवा क्लब, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) ले ‘मेरो विश्वविद्यालय, मेरो गौरव’ भन्ने भावनासहित स्थानीय समुदाय स्वतःस्फूर्त रूपमा अभियानमा सहभागी भएको बताए। उनका अनुसार सरसफाइ अभियानले विश्वविद्यालयप्रति स्थानीय नागरिकको अपनत्व, विश्वास र प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।
पाण्डेयले सुदूरपश्चिमको बहुप्रतीक्षित मेडिकल विश्वविद्यालय अब निर्माणको चरण पार गरेर सञ्चालनतर्फ अघि बढिसकेको उल्लेख गर्दै यसै शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालन हुनेमा आफूहरू विश्वस्त रहेको बताए। विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त, पारदर्शी र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्दै देशकै उत्कृष्ट मेडिकल विश्वविद्यालयका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
यसअघि उपकुलपति प्रा. डा. जोशीले विश्वविद्यालय परिसरमा फैलिएका झाडी तथा अनावश्यक वनस्पति हटाउन सामाजिक संघसंस्था, युवा क्लब, नेपाल रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा सरोकारवाला निकायलाई सरसफाइ अभियानमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए।
विश्वविद्यालय प्रशासन र स्थानीय समुदायको सक्रिय सहकार्यसँगै सञ्चालन तयारीले तीव्रता पाएपछि सुदूरपश्चिममा चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय अब योजनाबाट कार्यान्वयनतर्फ दृढ रूपमा अघि बढेको सरोकारवालाहरूको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित