हरि प्रसाद जोशी
देश फेरि एकपटक चुनावको मोडमा उभिएको छ। १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू घरदैलोमा छन्, मतदाता निर्णायक मनस्थितिमा छन्। तर यो चुनाव केवल सांसद छान्ने प्रक्रिया होइन, यो देश कुन दिशामा जाने भन्ने जनमत संग्रह जस्तै बनेको छ।
यसपटकको चुनावलाई फरक बनाउने एउटा कारण छ, प्रधानमन्त्रीको अनुहार चुनावअगावै सार्वजनिक गर्ने होड। एमालेले केपी शर्मा ओली, कांग्रेसले गगन थापा र रास्वपाले बालेन साहलाई अघि सारेका छन्। नेकपाभित्र भने अझै अन्योल छ। तर प्रश्न व्यक्ति होइन, दृष्टिकोण हो, देश बनाउने राजनीति कि अराजकतालाई ठहर गर्ने राजनीति ?
भदौ २३–२४ का घटनाले यही बहसलाई तीखो बनाइदिएको छ। सडकमा भएको विध्वंस, ज्यान गुमाएका निर्दोष नागरिक र त्यसपछि देखिएको राजनीतिक मौनता , यी सबैले एउटा गम्भीर प्रश्न उठाएको छ: हिंसालाई क्रान्ति भन्न मिल्छ ? लोकतन्त्रमा असहमति हुन्छ, आन्दोलन हुन्छ, तर राज्य र समाज जलाएर परिवर्तन सम्भव हुँदैन।
विडम्बना के छ भने, केही दल र नेताहरूले त्यो विध्वंसलाई ‘क्रान्ति’ को जामा पहिर्याउने प्रयास गरे। स्पष्ट धारणा लिनुपर्ने बेला अस्पष्टता रोजियो। यहीँबाट चुनावी रेखा कोरिएको छ , एकातिर हिंसालाई अस्वीकार गर्दै स्थायित्व र संविधानको पक्षमा उभिनेहरू, अर्कोतिर अराजकतालाई रोमाञ्चक भाषणले ढाकछोप गर्नेहरू।
झापा–५ को चुनावी भिडन्त त्यसको प्रतीक बनेको छ। केपी ओलीविरुद्ध बालेन साहलाई उभ्याइनु सामान्य प्रतिस्पर्धा मात्र होइन, राजनीतिक सन्देश हो। प्रश्न उठ्छ , किन यही क्षेत्र ? किन यही पात्र ? यसको उत्तर समयले देला। तर मतदाताले बुझ्नैपर्छ, चुनाव भावनाले होइन, परिणामले जितिन्छ।
मतदाता अब नारा र आवेगभन्दा माथि उठिसकेका छन्। उनीहरू सोधिरहेका छन्, कसले देश चलाउँछ, कसले जलाउँछ ? कसले संविधान जोगाउँछ, कसले भिडलाई उक्साउँछ ? आजको चुनावमा यही प्रश्नको उत्तर मतपेटिकामा लेखिनेछ।
इतिहास साक्षी छ , झापाले सधैं स्थिरता, विकास र राष्ट्रहित रोजेको छ। यसपटक पनि चुनावी चमकभन्दा पर हेरेर, देश बनाउने विकल्प छान्ने जिम्मेवारी झापामात्र होइन, सिङ्गो देशकै हो। किनकि जित–हारभन्दा ठूलो कुरा छ—देश बन्छ कि फेरि जलाइन्छ ?अब फैसला जनताको हो।


















Discussion about this post