आधुनिक प्रभावले ओझेलमा पर्दै राना थारू समुदायको डोली–चन्डोल संस्कार

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायमा विवाह संस्कारका क्रममा प्रयोग हुँदै आएको डोली र चन्डोल बोक्ने परम्परा पछिल्लो समय संकटमा पर्दै गएको छ। आधुनिक जीवनशैली, सवारी साधनको सहज पहुँच र सामाजिक सोचमा आएको परिवर्तनका कारण पुस्तौँदेखि चल्दै आएको यो मौलिक सांस्कृतिक अभ्यास क्रमशः हराउँदै जान थालेको हो।
राना थारू समुदायमा विवाहका अवसरमा दुलहीलाई डोलीमा र दुलहालाई चन्डोलमा राखी बोकेर लैजाने चलन रहँदै आएको छ। बाँस, कपडा र स्थानीय सामग्री प्रयोग गरी तयार गरिने डोली–चन्डोल केवल यातायातको साधन नभई समुदायको संस्कार, आस्था र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको मानिन्छ। यसले सामाजिक प्रतिष्ठा, पारिवारिक सम्बन्ध र सामूहिक एकताको भावना झल्काउने गर्दछ।
परम्पराअनुसार डोली बाँसबाट निर्माण गरी सेतो कपडाले ढाक्ने र छतरी राख्ने गरिन्थ्यो। भित्र डोरीले बुनेको खटिया राखी रङ्गीबिरङ्गी कपडाले सजावट गरिन्थ्यो। यस्तै, चन्डोल पनि बाँसकै संरचनामा तयार गरी कण्डी, फुलवा र अर्सा कपडाले आकर्षक रूपमा सजाइन्थ्यो। यी संरचना तयार पार्ने काममा परिवार र आफन्तको सामूहिक सहभागिता रहने गर्थ्यो।
विवाहको दिन दुलहालाई चन्डोलमा चढाउनुअघि घरमै विशेष धार्मिक र सांस्कृतिक कर्म गरिन्थ्यो। हल्दी लगाउने, स्नान गराउने र परम्परागत पहिरन लगाइदिने चलन थियो। त्यसपछि टीकाटालो र दक्षिणा दिने विधि सम्पन्न गरी दुलहालाई चन्डोलमा बसालिन्थ्यो। चन्डोलभित्र दुलहासँगै उहाँका भाइलाई पनि राख्ने चलन थियो, जसले दुलहा एक्लो नहोस् भन्ने सामाजिक मान्यता दर्शाउँथ्यो। डोलीमा भने दुलहीलाई मात्र राख्ने परम्परा रहिआएको छ।
पहिले दुलहालाई चार जनाले काँधमा चन्डोल बोकेर बेहुलीको घरसम्म पुर्‍याउने र विवाहपछि दुलहीलाई डोलीमा काँधमै बोकेर बेहुलाको घर ल्याउने गरिन्थ्यो। यस क्रममा गाउँ–गाउँमा उत्सवमय वातावरण सिर्जना हुने गर्दथ्यो। तर हाल यो अभ्यास निकै सीमित बनेको छ। अहिले अधिकांश विवाहमा केही दूरीसम्म मात्र डोली–चन्डोल प्रयोग गरी त्यसपछि सवारी साधनमार्फत गन्तव्यमा पुर्‍याउने गरिन्छ।
यसैगरी, परम्परागत पहिरनको स्थान आधुनिक फेसनले लिन थालेको देखिन्छ। पहिला दुलहीले सेतो कपडा र बम्बै घघँरिया लगाउने चलन भए पनि अहिले आधुनिक र महँगा लुगा प्रयोग बढ्दै गएको छ। दुलहाको हकमा पनि कोट–पाइन्ट र टाइ सामान्य बन्दै गएका छन्। यसले राना थारू समुदायको मौलिक पहिचान झल्काउने सांस्कृतिक पक्ष कमजोर बन्दै गएको चिन्ता समुदायमा देखिएको छ।
समुदायका अगुवा तथा संस्कृतिविद्हरूले आधुनिकतालाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने भए पनि परम्परागत संस्कार संरक्षणका लागि नयाँ पुस्तामा चेतना अभिवृद्धि आवश्यक रहेको औँल्याएका छन्। डोली–चन्डोलजस्ता सांस्कृतिक प्रतीक जोगाउन समुदाय, स्थानीय तह र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको उनीहरूको धारणा छ।
राना थारू समुदायका लागि डोली–चन्डोल केवल विवाह संस्कारको अंश मात्र नभई सामूहिक पहिचान, सामाजिक सम्बन्ध र सांस्कृतिक गौरवको प्रतीक भएकाले यसको संरक्षण आजको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित