सार्थक ब्यूरो।प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर समर्थन माग्न व्यस्त छन्। तर यसपटक चुनावी माहोलमा एउटा असहज तर स्पष्ट सन्देश सुनिन थालेको छ;घोषणापत्रभन्दा काम महत्वपूर्ण हो। विगतका निर्वाचनमा गरिएका वाचा पूरा हुन नसकेको अनुभवले मतदातालाई घोषणापत्रप्रति संशयग्रस्त बनाएको छ।
कञ्चनपुरका विभिन्न स्थानका मतदाताले व्यक्त गरेको धारणा हेर्दा घोषणापत्र अब विश्वासको दस्तावेजभन्दा पनि राजनीतिक औपचारिकतामा सीमित हुँदै गएको संकेत देखिन्छ। भीमदत्त नगरपालिका–२ का स्थानीय महेश भट्ट विगतका घोषणापत्रले विश्वास जित्न नसकेको बताउँदै अब घोषणापत्र हेरेर मत दिने अवस्था नरहेको टिप्पणी गर्छन्। उनका अनुसार समस्या घोषणापत्र नहुनु होइन, घोषित प्रतिबद्धता कार्यान्वयन नहुनु हो।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा रोजगारी सिर्जना, प्रशासन सुधार, भ्रष्टाचार नियन्त्रणजस्ता ठूला प्रतिबद्धता गरिएका थिए। तर बेदकोट नगरपालिका–१० का स्थानीय प्रेमबहादुर महराको अनुभव फरक छ। सरकारी कार्यालयमा घण्टौँ लाइन बस्दा पनि काम नहुने अवस्था अझै यथावत् रहेको उनी बताउँछन्। “काम गराउन नेता खोज्नुपर्ने बाध्यता हट्नुपर्छ,” उनी भन्छन्। यो भनाइले मतदाताको अपेक्षा अब नारा र भाषणभन्दा प्रणालीगत सुधारतर्फ केन्द्रित भएको देखाउँछ।
यसपटकको अर्को उल्लेखनीय पक्ष भनेको कतिपय उम्मेदवारले घोषणापत्र नै सार्वजनिक नगरी मत माग्नु हो। बेलौरी नगरपालिका–८ का हरिस रानाका अनुसार घोषणापत्रविहीन अभियानले परिवर्तनको आशा झनै कमजोर बनाएको छ। उनका शब्दमा, “घोषणापत्र सार्वजनिक नगरी चुनाव जितेपछि पनि सुधार हुन्छ भन्ने विश्वास छैन।”
यो अवस्था आफैंमा गम्भीर प्रश्न उठाउँछ ,के उम्मेदवारहरू आफ्नै प्रतिबद्धताप्रति अनिश्चित छन्, वा मतदाताले घोषणापत्रलाई गम्भीर रूपमा नलिने ठानेर त्यसलाई बेवास्ता गरिएको हो?
बेदकोट नगरपालिका–६ का दीपेन्द्र केशी जस्ता मतदाताको धारणा झनै स्पष्ट छ। उनी भन्छन्, अहिलेको पुस्ता परिवर्तन चाहन्छ, तर त्यो परिवर्तन यथार्थपरक योजना बाट मात्र सम्भव छ। विगतका जस्तै झुटा आश्वासन दिएर मत माग्ने प्रवृत्तिले राजनीतिप्रति वितृष्णा मात्रै बढाउने उनको निष्कर्ष छ।
अघिल्ला निर्वाचनमा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता, निःशुल्क स्वास्थ्य सेवा, प्रशासन र न्यायालय सुधार, वैदेशिक रोजगारीबाट फर्किनेका लागि अवसर सिर्जना जस्ता ठूला वाचा गरिए। तर तीमध्ये धेरैजसो कागजमै सीमित रहँदा मतदाताको भरोसा खस्किनु स्वाभाविक देखिन्छ।
तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ११ स्वतन्त्रसहित ४४ दलीय उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उम्मेदवारको भीड धेरै भए पनि मतदाताको माग एउटै देखिन्छ—काम गर्न सकिने, मापन गर्न सकिने र समयसीमा तोकिएका योजना।
आजको मतदाता घोषणापत्रको पृष्ठसंख्या होइन, उम्मेदवारको विश्वसनीयता हेर्न थालेको छ। झुटा वाचा र असम्भव प्रतिबद्धताले भरिएको घोषणापत्रभन्दा, थोरै तर कार्यान्वयनयोग्य योजना प्रस्तुत गर्नु नै अबको राजनीतिक आवश्यकता बनेको छ। यदि दल र उम्मेदवारहरूले यो सन्देश बुझ्न सकेनन् भने, घोषणापत्रविहीन मात्र होइन—विश्वासविहीन राजनीति को संकट अझ गहिरिँदै जानेछ।


















Discussion about this post