सार्थक डेस्क।आज भारतीय गणतन्त्रले ७७ वर्ष पूरा गरिसकेको छ । साम्राज्यवादी औपनिवेशिक दासताबाट मुक्त हुन भारतीय जनताले चुकाएको रगत, पसिना र बलिदान केवल भारतकै इतिहास होइन, दक्षिण एशियाली जनताको साझा संघर्षको गाथा हो । यही ऐतिहासिक घडीमा भारतीय गणतन्त्रको आत्मालाई स्मरण गर्दै नेपाल–भारत सम्बन्धको वर्तमान र भविष्यलाई निर्भीक ढंगले पुनरावलोकन गर्नु अपरिहार्य बनेको छ ।
स्वाधीन भारत आज कृषि, उद्योग, विज्ञान–प्रविधि, अन्तरिक्ष र सैनिक क्षमतामा विश्वको चौथो आर्थिक शक्तिको रूपमा उभिएको छ । तर प्रश्न प्रगतिका आँकडामा होइन, गणतन्त्रको मर्म जनजीवनमा कति गहिरो बस्यो भन्नेमा छ । साढे सात दशक बितिसक्दा पनि भारत गरीबी, असमानता, बेरोजगारी, सामाजिक विभाजन र क्षेत्रीय असन्तुलनसँग जुधिरहेकै छ । यसले गणतन्त्रले राजनीतिक स्वतन्त्रता त दियो, तर सामाजिक ,आर्थिक मुक्ति अझै अधुरो छ भन्ने यथार्थ उजागर गर्छ ।
यही अधुरोपनको छाया भारतका छिमेकीहरूसँगको सम्बन्धमा पनि देखिन्छ । उपनिवेशवादविरुद्ध लडेर असंलग्न आन्दोलनको नेतृत्व गरेको भारतले छिमेकीहरूसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध विकास गर्न सकेको छैन । इतिहासले थोपरेको अविश्वास र शक्ति–केन्द्रित सोच अझै हट्न सकेको छैन ।
नेपाल–भारत सम्बन्धको जरा जनस्तरको मित्रता र साझा संघर्षमा छ । ब्रिटिश साम्राज्यवादविरुद्धको भारतीय स्वतन्त्रता संग्राममा नेपाली जनताले आश्रय, सहयोग र बलिदान दिएका छन् । त्यस्तै, राणा निरंकुशताविरुद्धको नेपाली आन्दोलनमा भारतीय जनताको नैतिक समर्थन निर्णायक रह्यो । समस्या जनताबीच कहिल्यै थिएन; समस्या सधैं सत्ताको सोच र व्यवहारमा रह्यो ।
१९५० को शान्ति तथा मैत्री सन्धिदेखि कोशी, गण्डकी, महाकालीसम्म आइपुग्दा असमानता र अविश्वास झन् गहिरिँदै गयो । जलस्रोत, सीमा, व्यापार, पारवहन र सुरक्षा,सबै क्षेत्रमा नेपालको स्वाधीन हित बारम्बार कमजोर पारियो भन्ने अनुभूति नेपाली समाजमा गहिरो छ । कालापानीजस्ता मुद्दाले यो सम्बन्ध अझै संवेदनशील बनेको छ ।
पण्डित जवाहरलाल नेहरुले भनेझैं, “तथ्यलाई बेवास्ता गर्दा समस्या हराउँदैन, उल्टै विस्फोटक बन्छ ।” नेपाल–भारत सम्बन्ध पनि यही सत्यको उदाहरण बन्दै आएको छ । समस्यालाई छोपेर होइन, स्वीकारेर समाधान खोज्नु नै दुवै देशका जनताको हितमा छ ।
आज विश्व ‘ग्लोबल भिलेज’ बन्दै गर्दा छिमेकीसँग असमान, असन्तुलित र शंकामा आधारित सम्बन्ध बोकेर कुनै पनि देश अघि बढ्न सक्दैन । दक्षिण–दक्षिण सहयोग, क्षेत्रीय शान्ति र साझा समृद्धिको सपना तब मात्र साकार हुन्छ, जब नेपाल–भारत सम्बन्ध बराबरी, सम्मान र पारदर्शितामा उभिन्छ ।
भारतीय गणतन्त्र दिवस केवल उत्सव होइन, आत्मसमीक्षाको दिन पनि हो । भारतले आफ्नो गणतान्त्रिक आदर्श छिमेकी नीतिमा पनि उतार्न सकेन भने इतिहासले कठोर प्रश्न सोध्नेछ । नेपालले पनि भावनामा होइन, स्पष्ट दृष्टि र दृढताका साथ आफ्ना हित प्रस्तुत गर्न सक्नुपर्छ ।
अन्ततः, दुई देशका सरकारभन्दा ठूलो शक्ति दुई देशका जनता हुन् । पुष्पलालले देखाएको जनमैत्रीको बाटो आज झन् सान्दर्भिक छ । यदि इतिहासबाट सिकेर अघि बढ्न सकिएन भने, भविष्यले क्षमा गर्ने छैन । यही चेतावनी र यही सम्भावनासहित भारतीय गणतन्त्र दिवसले नेपाल–भारत सम्बन्धलाई नयाँ दिशामा सोच्न बाध्य पारोस् ।

















Discussion about this post