सार्थक ब्यूरो। कैलालीको भजनी नगरपालिकामा स्वास्थ्य तथा पोषणको अवस्था चिन्ताजनक देखिएको छ। नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कले महिला र बालबालिकाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको संकेत गरेको हो।
नगरपालिकाका अनुसार प्रजनन उमेरका करिब ३५ प्रतिशत महिलामा रक्तअल्पताको समस्या देखिएको छ। यसको प्रत्यक्ष असर नवजात शिशुमा परिरहेको छ, जसका कारण हरेक वर्ष नौ प्रतिशतभन्दा बढी बालबालिका कम तौलका साथ जन्मिने गरेका छन्। यस वर्ष दुई हजार ४२५ बालबालिकामा गरिएको सर्वेक्षणबाट २१ बालबालिका अत्यन्त कुपोषित र १८१ बालबालिका कुपोषणको अवस्थामा रहेको पत्ता लागेको जनस्वास्थ्य निरीक्षक कैलाश डगौरा थारुले जानकारी दिनुभयो।
स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनका लागि ठूलो बजेट खर्च भए पनि बालबालिका, किशोरी तथा गर्भवती महिलालाई लक्षित पोषण कार्यक्रमका लागि वार्षिक पाँच लाख रुपियाँ मात्रै विनियोजन गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख ऋजु चुकाहाका अनुसार भजनी जन्मजात अपाङ्गता भएका बालबालिकाको सङ्ख्या बढी रहेको पालिकामध्ये एक हो।
करिब ५३ हजार जनसङ्ख्या रहेको नगरपालिकामा ९७६ जना अपाङ्गता परिचयपत्र प्राप्त व्यक्ति छन्। तीमध्ये झन्डै ५०० जना १८ वर्षमुनिका बालबालिका रहेको तथ्याङ्क छ। चुकाहाका अनुसार करिब ३०० बालबालिका मात्र विद्यालयमा भर्ना भएका छन् भने बाँकी घरमै बस्न बाध्य छन्। विद्यालय पुगेका बालबालिकाका लागि पनि समावेशी शिक्षाको प्रभावकारी व्यवस्था हुन नसकेको र समुदायस्तरमा वैकल्पिक सिकाइ केन्द्रसमेत नभएकाले सिकाइको अवस्था कमजोर रहेको उहाँले बताउनुभयो।
अपाङ्गता भएका बालबालिकासहित करिब आठ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेको पाइएको छ। स्वास्थ्य, पोषण र शिक्षा एक–आपसमा जोडिएका समस्या भएकाले बालबालिकामा कुपोषण, महिलामा रक्तअल्पता, परिवारमा गरिबी र शिक्षामा न्यून लगानीले समग्र मानव विकास सूचकमा नकारात्मक असर परेको जानकारहरूको भनाइ छ।
शैक्षिक नतिजाले पनि अवस्था झल्काएको छ। गत वर्ष कक्षा पाँचमा ६४ प्रतिशत, कक्षा आठमा ५६ प्रतिशत र कक्षा दसमा पुग्दा केवल १४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको शिक्षा अधिकृत पङ्खबहादुर शाहले जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाभर रहेका ११ माध्यमिक विद्यालयमा जम्मा सात जना मात्र शिक्षकको दरबन्दी रहेको छ।
शिक्षक पदम शाहीले आधारभूत तहमा शिक्षक सङ्ख्या समस्या नभए पनि विषयगत शिक्षकको समायोजन, विद्यालय नक्साङ्कन र अभिभावक शिक्षाजस्ता कार्यक्रम लागू गर्न सके शिक्षामा सुधार सम्भव हुने सुझाव दिनुभयो।
नगर प्रमुख केवल चौधरीले निःशुल्क शिक्षासहित विद्यालयमैत्री वातावरण बनाउन विभिन्न लगानी गरिएको भए पनि अपेक्षित नतिजा नआएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार स्वास्थ्य, पोषण र शिक्षा क्षेत्रमा समन्वित हस्तक्षेप नगरेसम्म दीर्घकालीन सुधार कठिन हुने देखिएको छ।


















Discussion about this post