

राम बहादुर चुनारा
को थिए भीम दत्त पन्त ?
डडेल्धुराको कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तको सुपुत्र हुन। उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत बिषयमा हाईस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीम दत्त पन्त नै थिए।
कसरी आन्दोलनको शुरुवात गरे ?
अन्याय, सामाजिक भेदभाव, सहन नसक्ने भीम दत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे । त्यस बेला उनलाइ भीम दत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे। कसैलाइ भीम दत्त पन्तले कारवाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा काँग्रेस पसोस भन्ने पनि चलन थियो।
गरीब, दलित, जनजाती, किशानहरुलाई संगठीत गरि राणा बिरोधी आन्दोलनमा समेत भीम दत्त पन्तको ठूलो भूमिका रह्यो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको ब्यावहार उनलाई मन परेन । उनले क्रान्ति पुरा भएको छैन, भनी राणासित मिलेर बनाएको सरकारको विरोध गरे।
परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीम दत्त पन्तले दलित, मगर र थारुहरु संगठीत गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपसिंह दुइ जना सेनाका कमान्डर थिए । दक्षिण भारत पञ्जावका एक जना विद्वान कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए।
भान्सामा दलितहरुलाई सहभागि गराउन थाले। किसानहरुलाई बेदखल गर्ने, उनीहरुको नाममा जाली तमसुख बनाउने, श्रमशोषण गर्ने ठालुहरुलाई कारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । यस व्यवहारबाट कुडिएका ठालुहरु उनलाई पागल भन्थे। पछि भीम दत्त आफै पनि ठालुहरुलाई परिचय दिंदा पागल पन्त भन्ने गर्थे।
काँग्रेससित बैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले। केही ठाउँमा जय नेपाल भन्नेलाई कारवाही पनि गरेका थिए। उनले भन्ने गर्थे, म अहिले जे गर्दैछु, भोली यस्तै हुन्छ। त्यसैले आजैदेखि अन्याय, अत्याचार छोड्नुपर्छ । उनको क्रान्ति विरोध गर्ने र कारवाही गर्नेमा मात्र सिमित थिएन। गरीबहरु संगठीत हुनुपर्छ। अन्न खेर फाल्नु हुँदैन । उत्पादन बढाउनुपर्छ। अनावश्यक खर्च घटाउनु पर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए।
कस्तो दुःख भोगे भीमदत्तले ?
क्रान्तिमा लागेकाले भीम दत्त पन्त घरको काममा समय दिन सक्दैनथे। गाउँका ठालुहरु सबै बिरोधी थिए । घरको जिम्मेवारी धर्मपत्नि पार्वती पन्तकै हुन्थ्यो। नावालक दुइ छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो र अढाइ वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । त्यस पश्चात पनि घरको प्रवाह नगरी क्रान्तिमै लागि रहे।
दुबै छोराको मृत्युपछि पार्वती पन्तको आग्रहमा महता क्षेत्रीको छोरीसित अर्को विवाह गरे। कान्छी श्रमितिबाट छोरी जन्मिइन। उनको पनि ७(८ वर्षकै हुँदा मृत्यु भयो । छोरीको मृत्युपछि कान्छि श्रीमतिले अर्को बिवाह गरिन । भीम दत्तका बिरोधी र पारिवारिक समस्या बढ्दै गए तर क्रान्तिबाट विचलित भएनन। उनले गरीबको पक्षमा बोलेको र दलितको घरमा खाएको कसैलाई पनि मन परेको थिएन । यहीबेला अन्याय बिरुद्ध संगठीत भई लड्ने उद्घोषका साथ २००९ बैशाख २ गते डडेल्धुराको घटालथानमा भेला बोलाए । गाउँका ठूला ठालुहरुलाइ अनिवार्य उपस्थित हुन उर्दि जारी गरे । सबैलाई जय दाशको हातको पानी खान लगाए।
भीमदत्तले गरेको आन्दोलन
गरीबहरुलाइ संगठीत गर्न भीम दत्त गााउँ भ्रमण गर्न जान्थे। सुदुरपश्चिम र मध्यपश्चिमका अधिकाँश जिल्लाहरुमा भ्रमण गर्दा गरीबहरुले नुन समेत खान नपाएको थाहा पाएर नुन आन्दोलनको घोषणा गरे । कञ्चनपुरको ब्रहमदेवमा भएको गोदामबाट गरीबहरुलाइ नुन, कपडा, वितरण गरे । यस घटनाका दिन गरीबहरुको ठूलो जनमासले भीम दत्त पन्तको स्वागत गरी भीम दत्त पन्त जिन्दावाद भनी नाराबाजी गरे।
यहीबेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगञ्ज पुर्याइयो। भागेर ज्यान बचाइ कञ्चनपुर आए। धर्मसिंह डिट्ठालाइ बोरीमा बाँधेर महाकालीमा फाले। जोगराज सुबेदारलाइ बोरीमा बाँधेर फाल्न लाग्दा उनको श्रीमतिले बाटोमा गएर बचाइन । काली गोरी महिला बेचेको कर उठाएर खाने जयदेव सुब्बालाइ पनि बोरीमा बाँधेर महाकालीमा फाल्ने योजना थियो। गााउँलेहरुले थाहा पाएर बिहान महिलाको पहिरनमा पानी लिन गएको बहाना गरी महाकाली पारी पठाएकाले ज्यान जोगियो।
त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो बुवालाइ तपाइ पनि सामन्त हो भनी घरमा भएका तमसुखहरु च्याते। विष्टहरुको घरमा भएका तमसुखहरु संकलन गरी बोरीमा हालेर जलाइदिए। मालअड्डामा भएका मूठहरु जलाइ दिए। त्यसपछि बडाहाकिम मोहन बहादुर सिंहलाइ हटाएर आफु बडाहाकिम भइ बसे। क्र्रान्तिमा सहयोग गर्नेहरुलाइ कर्मचारी बनाए । चार महिनासम्म उनले शासन चलाए।
कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो, भन्ने नाराका साथ जोताहा किशानका पक्षमा वकालत गरे । बेलौरीमा बैक कब्जा गरि त्यहाँबाट लिएको पैसा सेनालाई तलव दिएर बाँकी रहेको मध्ये कमैया र हलियाहरुलाई सहयोग गरे । उठ जागरे, नेपाली नवजवान जागरे । नेपालमा तम म, नेपाल देशलाइ स्वतन्त्र बनाँउरे । भन्ने उहाँको देशभक्ति गीत ९प्राथना० थियो । बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो , गरीबका दिन आया ठालुको काल आयो । उहाँको चर्चित गीत थियो । यसबाट बुझ्न सकिन्छ कि, भीम दत्त पन्त देशलाई स्वतन्त्र बनाउने । गरीबहरुलाई ठालुहरुको कब्जाबाट मुक्त गराउने अभियान थिए ।
कसरी भयो ? भीमदत्त माथी दमन
भीम दत्त पन्तले गरीबको पक्षमा गरेको काम नै गाउँका ठालुहरुलाई मन परेको थिएन । त्यसमाथी दलितहरुको घरमा खाना खाने, तमसुख जलाउने, बेदखली गर्नेलाई कारवाही गर्ने ब्यावहारले उनका बिरोधी बढ्दै गएका थिए। सरकारी अड्डाले उनको बिषयमा झुट्टा रिपोर्ट सरकारलाई पठाउँथे भने ठालुहरु गाउँमै षडयन्त्र गरिरहेका हुन्थे । उनीहरुले भीम दत्तलाइ मार्न चन्दा उठाएर सेनाको श्रीनाथ गणलाइ पैसा समेत दिए।
सरकारले भीम दत्त पन्तलाई पटक पटक जेल हाल्यो। त्यसबाट पनि भीम दत्त बिचलित नभएपछि मार्ने षडयन्त्र गरि भारतीय सेना समेत बोलायो । भीम दत्त पन्त बेलौरी कब्जा गरि धनगढी कब्जा गर्ने तयारी साथ हिडिरहेका बेला भारतीय सेनाले घेरामा पार्यो।
चारैतिर भारतीय सेनाले घेरको र पानी परी हिलो भएकाले भाग्न र प्रतिकार गर्न कठिनाई थियो। त्यस अवस्थामा पनि भीम दत्त पन्त त्यहाँबाट बच्न सफल भई केही सेनाका साथ निंगाली, सहजपुर हुँदै बुडर पगे । सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सेना मारिए। २०१० साल साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरको घरमा खाना पकाउन लागेका बेला गोली हानियो । मलाई पक्राउ गर । गोली नहान भन्दा मानेनन । गोली लागी छटपटाईरहेका बेला भीम दियालले उनको टाउको काटि दिए । टाउको लगेर बडाहाकिम मोहन बहादुर सिंहलाई बुझाईयो । काटेको टाउको बाँसको टुप्पोमा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो।
काजक्रियाका लागि पार्वती पन्त टाउको माग्न जाँदा दिइएन। गाउँमा काजक्रिया गर्न बाहुन पाईएन । क्रिया पनि गर्न दिईएन । पानीको मुहान छुट्याइयो । गौरा अलग गरियो । उनको परिवारलाई मेलापर्व, मन्दिर, पानीपधेरोबाट बञ्चित गरियो। गाउँमा क्रिया गर्न समेत नपाईने भएपछि ४० तोलाको कल्ली, २२ रुपयाँ तोला सुन, घरमा भएका भाँडाकुँडा बेचेर पार्वती पन्त, भीम दत्तका भाइ सिद्धराज पन्त र यदुनाथ पन्तले हरिद्वार गई काजक्रिया गरे।
नारामा रहे भीम दत्त
विशेष गरि नेपालका कम्युनिष्ट पार्टीहले भीम दत्त पन्तलाई आफ्नो आदर्श मान्दै आएका छन । कम्युनिष्ट पार्टीकै नेतृत्वमा धेरै पटक सरकार बने । कसैले पनि भीम दत्तलाई औपचारिक रुपमा शहिद घोषणा गर्ने आँट गर्न सकेनन । नेताहरु सडकमा हुँदा गरीबलाई सम्झिने र सिंहदरबार गईसकेपछि ठूलाबडाकै पक्षमा जाने संस्कार भएकै कारणले भीम दत्तलाई पनि बिर्सेका हुन सक्छन रु अर्कोतिर दलहरुमा आदर्श भन्दा सत्ता साँटगाँठलाई महत्व दिने प्रबृति बढेको र किसानलाई उपेक्षा गर्दै आएकाले पनि भीम दत्त पन्तले सम्मान पाएनन भन्न सकिन्छ । यसो भन्दा भीम दत्तलाई शहिद घोषणा गरेर मात्र सम्मान भएको मान्न सकिदैन । सच्चा सम्मान गरेको तव मानिने छ, जव उनले उठाएको मुद्दा सम्बोधन हुनेछ । भूमिहीन, सुकुम्बासी, बाढीपिडित, हलिया, मुक्त कमैया आरक्षपीडित, ऐलानीबासी, र किसानले जग्गा र जग्गाको अधिकार पाउनेछन । पछिडिएका जाती, समुदायले न्याय पाउनेछन । गरीबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीम दत्त पन्तलाई सम्मान गर्नु हो।
शहीद घोषणा
किसान आन्दोलनको नेतृत्व गरि सबै दलका आदर्श बनेका भीम दत्त पन्त लामो समयपछि शहीद घोषणा हुनु भएको छ । २०७२ फागुनमा सरकारले भीम दत्त पन्त सहित किसान बिद्रोहका २२ नेताहरुलाई शहीद घोषणा गरेको छ ।


















Discussion about this post