सार्थक ब्यूरो। सुदूरपश्चिमका विभिन्न गाउँ र थुम्कामा रहेका देउता मन्दिरहरूमा दसैँ अवसरमा गरिने विशेष पूजाआजा सम्पन्न भएका छन् । अब तिहारपछि वार्षिक पूजा र भव्य मेला आयोजना हुने तयारी सुरु भएको छ ।
स्थानीय परम्परा अनुसार ढुंगालाई देउता मानेर दशैँका अवसरमा धामीमार्फत होम गरी कालो, रातो टीका र जमरा लगाउने चलन रहिआएको छ । घटस्थापनादेखि नवरात्रभर कुलदेवताका मन्दिरमा जमरा राखी हरेक दिन पूजाआजा र बलिदानको विधि चल्ने गरेको पण्डित करुणाकर भट्ट बताउनुहुन्छ ।
उहाँका अनुसार डडेल्धुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, निङ्लाशैनी, मेलौली, र डोटीको शैलेश्वरी भगवतीमा महाअष्टमीका दिन राँगा तथा बोकाको बलि दिने परम्परा अझै जीवित छ । अछामको वैद्यनाथदेखि दार्चुलाको मालिकार्जुनसम्मका शक्तिपीठहरूमा पनि दशैँको बेला पूजाआजा र बलिदान कार्यक्रम हुन्छन् । दसैँका दिन देउताका धामीबाट टीका ग्रहण गरेर मात्रै मानिसहरू घर फर्कने र त्यसपछि परिवारका ठूलाबडाबाट टीका थाप्ने चलन रहेको उहाँले बताउनुभयो ।
यी अवसरमा स्थानीय समुदाय बाजागाजा, आभूषण र डोलीसहित देउरो (शोभायात्रा) मन्दिरसम्म लैजाने गर्छन् । अमरगढी–७ पोराको लेगीमा रहेको समैजी मन्दिरमा पनि पाँच गाउँका भक्तजनले घिउ, चामल, जौ, तिल र धूपलगायत सामग्री लिएर पूजाआजा गर्ने गर्छन् । नवरात्रभर बेलुकी सूर्यास्तपछि हरेक दिन होम र तिलकप्रसाद ग्रहणको विधि चल्ने गरेको छ ।
पण्डित भट्टका अनुसार, समैजी मन्दिरको पूजा भट्गाउँमा राखिएको देउरोमार्फत सम्पन्न गरिन्छ । यस क्षेत्रमा करिया, भरिया, भण्डारी थरका पुजारीहरू सक्रिय रहँदा जोशी, भट्टराई, भट्ट, शाहु र बुढा थरका समुदायहरूले पूजापोखल मन्दिरमा सामूहिक रूपमा पूजाआजा गर्छन् ।
तिहारपछि क्रमशः शैलेश्वर महादेवमा पाँचौं दिन, समैजीमा दशौं दिन र उग्रतारा भगवतीमा पन्ध्रौं दिन भव्य मेला र वार्षिक पूजा आयोजना गरिन्छ । यी वार्षिक पूजालाई यहाँका बासिन्दाले अत्यन्त श्रद्धा र सामाजिक एकताको प्रतीकका रूपमा लिन्छन् ।
पूजाका अवसरमा भक्तजनहरूले आफ्ना पीडा, गल्ती र इच्छाहरू देवतासामु पोख्छन् । धामीमार्फत देवताले माग सुन्ने, उपाय बताउने र कहिलेकाहीँ दण्ड–जरिवाना समेत तोक्ने विश्वास रहिआएको छ । यसै अवसरमा मनोकामना पूरा भएकाहरूले घण्टा, त्रिशूल, ध्वजा, सुन–चाँदीका धातु र अन्य सामग्री चढाउने गर्छन् ।
दसैँका पूजाआजाको यस दृश्यमा स्थानीयहरूले देवतासँग संवाद गरिरहेको, आफ्ना पीडा र खुसी साटिरहेको धार्मिक आस्था झल्किन्छ । यही संस्कार सुदूरपश्चिमका समुदायबीच धर्म, संस्कार र एकताको गहिरो नाता जोड्ने माध्यम बनेको छ ।


















Discussion about this post