खानी उत्खनन प्रक्रिया अघि बढाउन बैतडीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सार्थक व्युरो ।बैतडीमा विस्तृत अध्ययन सम्पन्न भई निजी क्षेत्रले उत्खनन अनुमति प्राप्त गरिसकेका खानीहरू सञ्चालनमा आउन नसकेपछि स्थानीय सरोकारवालाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
उद्योग वाणिज्य सङ्घ बैतडी, नेपाल पत्रकार महासङ्घ, नागरिक समाज तथा बुद्धिजीवीहरूको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको हो । उद्योग वाणिज्य सङ्घ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टका अनुसार खानी सञ्चालनमा ढिलाइ हुँदा स्थानीयमा चिन्ता र चासो बढेको छ ।
बैतडीमा चुनढुङ्गा, फलाम तथा कृषि मल उत्पादनमा प्रयोग हुने फस्फोराइट खानीको विस्तृत अध्ययन सम्पन्न भइसकेको छ । यिनै खानी सञ्चालन भए जिल्लामा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
उपाध्यक्ष भट्टले सरकारले सिमेन्ट उद्योगका लागि निजी क्षेत्रलाई उत्खनन अनुमति दिइसकेको भए पनि सडक विभागसँग सम्बन्धित फाइल अड्किँदा प्रक्रिया अगाडि बढ्न नसकेको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले वर्तमान सरकारले स्थानीय मागलाई सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारको पहलमा २०७८ सालमा गरिएको विस्तृत अध्ययनपछि दोगडाकेदार र सुर्नया गाउँपालिकाको सीमाक्षेत्र धर्मधरस्थित चुनढुङ्गा खानी उत्खनन गर्न आइएई ग्रुपले अनुमति पाएको थियो । कम्पनीले करिब ३० अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग स्थापना गर्ने तयारी गरेको जनाएको छ ।
कम्पनीका प्राविधिक प्रेम खड्काका अनुसार खानी सञ्चालनका अधिकांश प्रक्रिया पूरा भए पनि खानीभन्दा तल सडक क्षेत्र परेकाले सडक विभागको राय आवश्यक परेको छ ।
केही समयअघि सम्बन्धित फाइल सडक विभागबाट बैतडी आइपुगेपछि स्थलगत अध्ययन गरिएको सडक डिभिजन कार्यालयका प्राविधिक इन्जिनियर प्रदीप भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सडक विभागले पुनः अध्ययन गर्न निर्देशन दिएपछि सोहीअनुसार काम भइरहेको छ ।
त्यसैगरी दोगडाकेदार क्षेत्रमा रहेको फस्फोराइट खानीबारे छ वर्षअघि भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्काको नेतृत्वमा १५ सदस्यीय टोलीले ५५ दिनसम्म ड्रिलिङ अध्ययन गरेको थियो । अध्ययन टोलीले नेपालमै कृषि मल उत्पादनको सम्भावना औँल्याए पनि त्यसपछि उत्खनन प्रक्रिया अघि नबढेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
यता पुर्चौडी नगरपालिका–मल्लादेहीस्थित कालीढुङ्गा क्षेत्रमा रहेको फलाम खानी पनि लामो समयदेखि बन्द अवस्थामा छ । स्थानीयका अनुसार चार दशकअघि त्यहाँ फलाम उत्खनन गरिन्थ्यो । द्वन्द्वकालपछि बन्द भएको उक्त क्षेत्रमा अहिले पनि सयौँ पुराना खाडल देख्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित