भाषण होइन, परिणाम चाहिएको छ

सार्थक डेस्क। अब नेपाली जनतालाई भाषण होइन, परिणाम चाहिएको छ । परिणाम खोजी मा धेरै बिकल्प हेरिए र अझै हेरिरहेका छौं । यही निराशाको बीचमा नयाँ राजनीतिक शक्तिहरू “हामी नै विकल्प हौं“ भन्दै उदाए । तर विकल्प बन्ने दाबी गर्नेहरू पनि पुरानै रोगबाट मुक्त हुन सकेनन् । जनताका आधारभूत समस्या समाधान गर्नुको सट्टा राजनीतिक प्रतिशोध, आरोप–प्रत्यारोप र सत्ताको अंकगणितमै उनीहरूको ऊर्जा खर्च भयो । विकल्पको आशा बोकेका नागरिक फेरि प्रश्न गर्न बाध्य भए ,के विकल्प भनेको केवल नयाँ अनुहार मात्र हो, कि नयाँ सोच र नयाँ काम पनि हो ?
नेपालको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार मात्र होइन । भ्रष्टाचार त परिणाम हो, जरा होइन । जरा त उत्पादनविहीन अर्थतन्त्र हो । हामी उत्पादन नगर्ने, आयातमा बाँच्ने र व्यापारलाई मात्र अर्थतन्त्र सम्झिने मानसिकतामा फसेका छौं । जबसम्म उत्पादनलाई राष्ट्रिय अभियान बनाइँदैन, तबसम्म बेरोजगारी, गरिबी र भ्रष्टाचार कुनै पनि कानुनले अन्त्य गर्न सक्दैन ।
हामीसँग विशाल जंगल छन् । तर व्यवस्थापन गरेर सदुपयोग गर्नुभन्दा निषेधका कानुन धेरै छन् । कानुनले इमानदारलाई रोक्छ, तर तस्करलाई रोक्न सक्दैन । परिणामस्वरूप वन सम्पदा चोरी हुन्छ, राज्यले राजस्व गुमाउँछ र स्थानीयले रोजगारी गुमाउँछन् । हामीसँग ढुंगा, गिटी, बालुवा, चुनढुंगा, तामा, फलाम, सुनदेखि दुर्लभ खनिजसम्मका सम्भावना छन् । तर नीति अस्पष्ट छ, प्रक्रिया जटिल छ, निर्णय ढिलो छ । एउटा व्यवस्थित खानी सञ्चालन हुँदा
हजारौं युवाले रोजगारी पाउन सक्छन्, गाउँमा सडक पुग्न सक्छ, उद्योग स्थापना हुन सक्छ र राज्यको आम्दानी बढ्न
सक्छ । तर आज पनि यस्ता सम्भावनाहरू कागजमै सीमित छन् । प्राकृतिक स्रोतलाई संरक्षण र उत्पादनबीच सन्तुलन मिलाएर उपयोग गर्ने नीति बनाउनुपर्नेमा हामी या त सबै बन्द गर्छौं, या सबै खुला छोड्छौं । दुवै दृष्टिकोण राष्ट्रका लागि हानिकारक छन् ।
अर्को गम्भीर समस्या श्रमको मूल्य हो । दिनभरि पसिना बगाउने नागरिकले आफ्नो परिवार पाल्न नसक्ने अवस्था छ । जब इमानदार श्रमले जीवन धान्न सक्दैन, तब अनियमितता, घुस र भ्रष्टाचार धेरैका लागि बाध्यता बन्छ । भ्रष्टाचारको
अन्त्य भाषणले होइन, सम्मानजनक आम्दानीले हुन्छ । राज्य सञ्चालन गर्नेहरू नीतिनिर्माता कम र जागिरे मानसिकताका कर्मचारीजस्ता बढी देखिएका छन् । घोषणापत्र चुनावपछि दराजमा थन्किन्छ । बाचापत्र भाषणमै सीमित हुन्छ ।
जिम्मेवारी स्वीकार गर्नेभन्दा दोष अरूमाथि थोपर्ने प्रवृत्ति बढ्दो छ । यस्तो अवस्थामा राज्य नागरिकको अभिभावक होइन, बेवारिसे संरचनाजस्तो देखिन थालेको छ ।
नेपाललाई केवल आयात–निर्यातको बजार बनाएर समृद्धि सम्भव छैन । आज हामी विदेशी उत्पादन किन्ने, त्यसैलाई महँगोमा बेच्ने र त्यसलाई व्यापारिक सफलता ठान्ने भ्रममा छौं । उत्पादन नगर्ने राष्ट्र कहिल्यै आत्मनिर्भर
हुँदैन । आत्मनिर्भरता नारा होइन; खेतमा उत्पादन बढ्नु, उद्योग चल्नु, खानी सञ्चालन हुनु, वन सम्पदाको वैज्ञानिक उपयोग हुनु र युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउनु हो ।
अब देशलाई अर्को भाषण होइन, अर्को दिशा चाहिएको छ । अब नीति यस्तो बनोस्, जसले उत्पादनलाई प्रोत्साहन गरोस्, उद्यमीलाई सम्मान गरोस्, श्रमिकलाई उचित पारिश्रमिक दिओस्, प्राकृतिक स्रोतको वैज्ञानिक उपयोग सुनिश्चित गरोस् र भ्रष्टाचारलाई अवसर होइन, जोखिम बनाओस् ।
जनताले अब चमत्कार खोजेका छैनन् । उनीहरूले इमानदार नेतृत्व, स्पष्ट नीति र परिणाम दिने शासन खोजेका छन् । विकल्पको अर्थ नयाँ पार्टी मात्र होइन, नयाँ कार्यशैली हो । परिवर्तनको अर्थ नयाँ नारा होइन, नयाँ उत्पादन हो ।
देशलाई बचाउने शक्ति भाषणमा छैन, उत्पादनमा छ । समृद्धि विदेशी ऋणमा छैन, आफ्नै श्रममा छ । सुशासन कानुनका पानामा होइन, नेतृत्वको चरित्रमा देखिनुपर्छ ।
अब प्रश्न नेताहरूलाई होइन, सम्पूर्ण राष्ट्रलाई हो—हामी अझै नारामै बाँच्ने कि उत्पादनमार्फत भविष्य निर्माण गर्ने ? इतिहासले भाषण गर्नेहरूलाई होइन, राष्ट्र बनाउनेहरूलाई सम्झन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित