‘छक्का’ शब्दको पीडादेखि अधिकार अभियानसम्म

सार्थक व्युरो । मे १७ लाई विश्वभर “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवस” का रूपमा मनाइँदै आइएको छ। सन् १९९० मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समलैङ्गिकता तथा यौनिक विविधतालाई मानसिक रोगको सूचीबाट हटाउने ऐतिहासिक निर्णय गरेपछि यो दिवसको सुरुआत भएको हो। नेपालमा पनि सन् २००४ देखि विभिन्न चेतनामूलक कार्यक्रममार्फत यो दिवस मनाइँदै आएको छ।
यद्यपि नेपालमा तेस्रोलिङ्गी तथा समलैङ्गिक समुदायले अझै पनि विभेद, सामाजिक बहिष्कार र पारिवारिक अस्वीकृतिको सामना गरिरहेको अभियन्ताहरू बताउँछन्। उनीहरूका अनुसार कानुनी संरक्षण कमजोर रहँदा समुदायका सदस्यहरू खुला रूपमा आफ्नो पहिचान व्यक्त गर्न अझै असहज महसुस गरिरहेका छन्।
अभियन्ताहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमाथि हुने हिंसा र विभेदलाई “घृणा अपराध” का रूपमा कानुनमै स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। त्यस्ता घटनामा राज्य आफैँले मुद्दा दायर गर्ने र कडा कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ।
नेपालमा यस विषयमा लामो समयदेखि आवाज उठाउँदै आएका पूर्व संविधानसभा सदस्य सुनिलबाबु पन्तको नेतृत्वमा समुदायका अधिकारका पक्षमा विभिन्न अभियान सञ्चालन हुँदै आएका छन्।
यसै अवसरमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी अभियन्ता बाबु दुमि राईले आफ्नो जीवन संघर्ष, विभेद र आत्मस्वीकारको यात्राबारे अनुभव साझा गरेकी छन्।
बाल्यकालमा परिवार र गाउँलेहरूले “भोटे” भनेर बोलाउने बाबु दुमिलाई त्यो नाम मावली हजुरआमाले मायाले राखिदिएकी थिइन्। तर विद्यालय जीवनमा पहिलो पटक “छक्का” भन्ने अपमानजनक शब्द सुन्नुपर्दा उनी गहिरो मानसिक तनावमा परेकी थिइन्।
उनका अनुसार खेतमा काम गरिरहेको बेला आफ्नै सहपाठीले सार्वजनिक रूपमा अपमान गरेपछि उनी लामो समयसम्म मानसिक रूपमा विचलित भइन्। पढाइमा ध्यान केन्द्रित गर्न कठिन भएको र एकान्तमा बस्न मन लाग्ने अवस्थासम्म पुगेको उनले स्मरण गरिन्।
एक समय आत्महत्यासम्म सोच आएको बताउँदै उनले आमाको सम्झनाले आफूलाई फेरि जीवनतर्फ फर्काएको सुनाइन्। त्यसपछि उनले पढाइ र आत्मविश्वासमा ध्यान केन्द्रित गरिन्। विद्यालयका विभिन्न कार्यक्रममा सहभागी हुन थालेपछि आफूभित्रको डर विस्तारै कम हुँदै गएको उनको अनुभव छ।
पछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेकी बाबु दुमि सामाजिक काम र समुदायसँग जोडिने क्रममा आफू पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सदस्य भएको कुरा खुला रूपमा स्वीकार गर्न तयार भएकी थिइन्।
उनले समाजले बनाएको संकुचित सोच नै समस्या भएको निष्कर्षमा पुग्दै समुदायको अधिकारका लागि सक्रिय अभियान सुरु गरेको बताइन्।
हाल उनी विगत सात–आठ वर्षदेखि समुदायका सदस्यहरूको मानसिक तथा भावनात्मक स्वास्थ्य परामर्श, एचआइभी तथा यौनरोग सम्बन्धी सचेतना, उपचार पहुँच र मानवअधिकारका क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेकी छन्।
उनी अहिले मायाको पहिचान नेपालमा बागमती प्रदेश नेतृत्वको भूमिकामा कार्यरत छिन्। समुदायका सयौँ व्यक्तिलाई स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवासम्म पुर्‍याउन सहयोग गरेको उनले बताइन्।
उनका अनुसार परिवार र समाजको डरका कारण धेरै व्यक्तिहरू उपचार र परामर्श लिन हिच्किचाउने गर्छन्। यस्ता व्यक्तिहरूलाई निरन्तर परामर्श र सहकार्य गर्दै आएको उनले उल्लेख गरिन्।
बाबु दुमि राईले आफूले भोगेका अपमान र विभेद पीडादायी भए पनि त्यही अनुभवले आफूलाई अझ बलियो बनाएको बताइन्। अहिले पनि धेरै व्यक्तिहरू डर र सामाजिक बहिष्कारबीच बाँचिरहेको उल्लेख गर्दै उनले समुदायलाई अधिकारका लागि खुलेर आवाज उठाउन आग्रह गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित